१२ आश्विन २०८१, शनिबार

प्रवासी नेपाली मञ्च अमेरिकाको साधारण सभा सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

कोलोराडोखबर संवाददाता , May 30th, 2024

अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारण सभा सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ मे २५ र २६ तारिख अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा आयोजना गरिएको साधारण सभा सम्पन्न भएको हो। साधारण सभामा अमेरिकाको विभिन्न १५ राज्यहरुबाट साधारण सभामा भाग लिन लस एन्जलस पुगेका र स्थानीयहरु गरी करिब तीन सयको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

प्रनेम, अमेरकाका सचिव छवि पाण्डेले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि, अतिथि, सदस्य तथा सहभागीहरुलाई साधारण सभा मूल ब्यवस्थापन समितिको तर्फबाट क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष चिरंजीवी गौतमले स्वागत गरेका थिए ।

प्रनेम अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा, पूर्व परराष्ट्र मन्त्री एवम् नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि ज्ञवालीले उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपालको विकासको पहिलो शत्रु अर्थराजनीति रहेको जिकिर गरे । मन्त्री ज्ञवालीले नेपाल अहिले निकै गहिरो मन्दीको चक्रमा परेको बताउदै देशको अर्थतन्त्रलाई समयमै लयमा फर्काउनु पर्नेमा जोड दिएका थिए । सम्बोधनका क्रममा उनले देशको हवाइ अड्डाहरुमा देखिएका समस्याहरु, ठूला(ठूला सुनकाण्ड, अदालतमा देखिएका समस्याहरुलगायत विविध विषयहरूमा चिन्ता व्यक्त गरे ।

प्रमुख अतिथि ज्ञवालीले नेपाल सरकार गैर आवासीय नागरिकता नियमावली सम्शोधनको बाटोमा लागेकोले गैर आवासीय नेपालीहरुले आफनो सम्पत्ति सुरक्षित ब्यवस्थापन र लगानी गर्न पाउने वातावरण सुनिश्चित हुने विश्वास व्यक्त गरे। नागरिकताको निरन्तरताका सम्बन्धमा भने सम्विधान संशोधनको बिषय तत्कालका लागि जटिल रहेको प्रस्ट पारे ।

सम्बोधनका क्रममा उनले बिदेशबाट भोट गर्नका लागी बिदेश बाट नै मतदाता नामावलीमा नाम लेखाउन पाउने गरी व्यवस्था गर्न छलफल चलिरहेको खुलासा गरे ।

कार्यक्रममा विशेष अतिथि प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैह्र आवासीय नेपाली नागरिकताले प्रवासीहरुको सबै आवश्यकता सम्बोधन हुन नसकेकाले, नागरिक्ता सम्बन्धी विषयमा बंशजका आधारमा नागरिकताको निरन्तरतामा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारका महावाणिज्यदूत ऋषि ढकाल, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापा, महादेश संयोजक ईश्वरी भट्ट, एनआरएनए अमेरिका उपाध्यक्ष नेत्र पाण्डे, एनआरएनए सचिव दिपक सापकोटा, ज्ञानेन्द्र गुरुङ, जनसंपर्क समिती अमेरिकाका प्रतिनिधि रामचन्द्र लामिछाने, पशुपतिनाथ फाउन्डेसनका एलएका अध्यक्ष रामेश्वर भण्डारी, प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार, सफल व्यवसायी यमुना भट्टराई साथै पेपर प्रस्तुति गर्ने इन्जिनियर कुलमणि आचार्य, राजेन्द्र शिवाकोटी, यमुना भट्टराई, डा. निर्मल पौड्याललगायतले प्रवासमा रहेका नेपालीहरुको समस्याहरु, चुनौतीहरु र समाधानका उपायहरुको बारेमा आफ्नो धारणा राख्दै साधारण सभाको सफलताको कामना गरेका थिए ।

उद्घाटन सत्र समापन भएसंगै बन्द सत्र सञ्चालन गरिएको थियो । बन्द सत्रमा आर्थिक प्रमुखले आर्थिक प्रतिवेदन, सचिवले प्रगति प्रतिवेदन र अध्यक्षले राजनैतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बन्द सत्रले प्रतिवेदनहरु उपर आवश्यक छलफल गरी पारित गरेको थियो ।

दोस्रो साधारण सभा ब्यवस्थापन संयोजकको जिम्मेवारी वहन गरेका संस्थाका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश ओली, सल्लाहकार कमिटीका संयोजक राजेन्द्र शिवाकोटी र प्रचार प्रसार संयोजक विजय बगालेले साधारण सभासंग सम्बन्धित व्यवस्थापकीय र आर्थिक विषयमा प्रकाश पार्दै आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै आभार प्रकट गरेका थिए । सांस्कृतिक विभाग प्रमुख जिएस खनालको नेतृत्व रहेको सांस्कृतिक टोलीका कलाकारहरुले सांगीतिक कोसेलीहरु पस्किएर कार्यक्रममा मनोरञ्जनात्मक माहोल शृजना गरेका थिए । कार्यक्रमको दौरानमा साधारण सभा सम्पन्न गर्न साथ सहयोग गर्नेहरुलाई आयोजकले कदर पत्रसमेत प्रदान गरेको थियो ।

दोश्रो वार्षिक साधारण सभाले सात बुँदे लस एन्जलस घोषणा पत्रसमेत जारी गरेको छ । घोषणा पत्रको पूर्ण पाठः

१. कुनै पनि सङठनको मेरुदण्ड भनेको यसको सदस्यहरु भएको हुदा आगामी वर्ष हुने ओएनएफको चौथो अधिवेशन सम्ममा कम्तिमा १,००० पुर्याउने र सम्भव भए सम्मका राज्यहरुमा थप राज्य कमिटि निर्माण गरि सवै राज्य कमिटिहरुलाई अझ चलायमान गराउने ।

२. प्रवासी नेपालीहरूले आर्जन गरेको सीप, ज्ञान र दक्षतालाई नेपालको विकास र समृध्दिसँग जोड्न नेपालमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गर्ने ।

३. अमेरिकाको नेपाली समुदायलाई आर्थिक, शैक्षिक, सीपमूलक,तथा सामाजिक क्षेत्रमा लाग्न प्रेरित, समन्वय र सहयोग गर्न सम्बन्धित सबैलाई आव्हान गर्दछ । र, ओएनएफका सबै साथीहरुलाई ब्यवसायिक गतिविधिमा प्रोत्साहन गर्ने।

४. ओएनएफ संग युवा विद्यार्थीहरुलाई जोड्नको निमित्त एजीएमको अवसरमा हरेक वर्ष कम्तिमा ५ जना विभिन्न बिधाका अब्बल विद्यार्थीहरूलाई प्रोत्साहन गरी उनीहरुलाई ओएनएफसङ जोड्न शैक्षिक सहयोग प्रदान गर्ने ।

५. सवल प्रवासी, समृध्द नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन नेपालको मूलधारका राजनीतिक पार्टीहरूले राष्ट्रियता, सशासन र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाउन आव्हान गर्दछ ।

६. हालसालै पारित गरिएको गैरआवासीय नागरिकता ऐन बाट प्राप्त गरियको गैराअवसिय नेपाली नागरिकता ले राजनीतिक बाहेक सम्पूर्ण आधिकार दिने भनिए पनि अन्य कानुनी जटिलता आएको हुदा त्यस कुरा लाई समाधान गर्न ओएनएफ आईसीले अन्य संगठन हरु संग पनि सहकार्य गरि तुरुन्त पहल गर्न को लागि अनुरोध गर्दछ।

७. नेपालको संविधान २०७२ मा सार्क राष्ट्र वाहेकका मुलुकमा वस्ने र उक्त मुलुकको नागरिकता प्राप्त गरेकाहरुलाई आर्थिक, सामाजिक र सास्कृतिक अधिकार सहितको गैर आवसिय नेपाली नागरिकता प्रदान गर्न सकिन्छ भन्ने उल्लेख गरिएकामा उक्त नागरिकतावाट प्रवासी नेपालीहरुको अधिकार संकृचित गरिएको, सम्पति माथिको पुर्ण अधिकार र नेपाल प्रवेश गर्दा भिषा समेत पनि नलगाई प्रवेश गर्ने नसकिने हुनाले यो अधिवेशको हल नेपाली नागरिकताको निरन्तरताको जोडदार माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्