नेपाल (हेटौंडा) । मुक्तक मञ्च मकवानपुरले गीतकार–मुक्तककार सुवासचन्द्र ढुङ्गेललाई प्रस्तुत गरेको छ । हेटौँडामा एक कार्यक्रमबीच उहाँलाई एकल वाचन गराएको हो ।
२०७८ पौष १७ गते स्थापित मुक्तक मञ्च मकवानपुर शाखाले स्थापना कालदेखि नै जिल्लाभित्र र बाहिरका मुक्तककारहरूमार्फत् प्रस्तुति गराउने, मुक्तक लेखन कार्यशाला, प्रतियोगिता, पुरस्कार तथा स्रष्टा सम्मानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । सोही क्रममा मङ्गलबार मुक्तककार ढुङ्गेलका मुक्तकहरू वाचन गराइएको हो ।
मुक्तक मञ्चका सहसचिव अजर फुयाँलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा ढुङ्गेलले दुइ सत्रमा विभाजन गरी राजनीति, युवा, आँशु, प्रेम, रोमान्ससम्बन्धी कूल ३० वटा मुक्तक वाचन गर्नुभयो ।
कवि मुरारी सिग्देलले स्रष्टा परिचय गराउनु भएको कार्यक्रममा मञ्चका सदस्यद्वय मुक्तककार मिथिला अधिकारी र कमल नेपालले ढुङ्गेलका ३–३ मुक्तकहरू वाचन गर्नुभयो । गीतकारको पहिचान बनाउनुभएका ढुङ्गेलले नै अरूण थापाले गाउनुभएको ‘चोट के हो व्यथा के हो ?’ गीत लेख्नुभएको हो भने उहाँका ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘फूल झरे पनि काँडा झर्दैन’, ‘चिता बनाई जलाई नदेऊ’ लगायत ३ सय बढी गीतहरू रेकर्ड भएका छन् ।
प्रतिक्रिया दिनुहोस्