१० मंसिर २०८१, सोमबार

कथासंग्रह ‘डम्फुको आत्मालाप’ माथि हेटौँडामा परिचर्चा

कोलोराडोखबर संवाददाता , May 26th, 2024

नेपाल (हेटौँडा) । भक्त स्याङ्तानको कथासंग्रह ‘डम्फुको आत्मालाप’ माथि हेटौँडामा परिचर्चा कार्यक्रम भएको छ ।

किताबघर हेटौँडाको आयोजनामा बिहिबार हेटौँडामा परिचर्चा कार्यक्रम भएको हो । २०८० असारमा प्रकाशन भएको कथासंग्रहमाथि लेखक भक्त स्याङ्तानसहित समीक्षक घनश्याम घिमिरेले परिचर्चा गर्नुभएको थियो । पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा पाठकको प्रतिक्रियाको रुपमा साहित्यकार यश लामा र साहित्यकार एवम् मकवानपुरको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङले पनि प्रतिक्रिया जनाउनुभएको थियो ।

तामाङ समुदायको कथालाई सुन्दर तरिकाले संग्रहित गर्न सफल भएको भन्नुहुँदै समीक्षक घिमिरेले सरल र प्रभावकारी भाषा, शैलीमा कथा प्रस्तुत गर्न लेखक सफल भएको बताउनुभयो । उहाँले कथासंग्रहमा समेटिएका ११ मध्ये ५ कथा उत्कृष्ट भएको र अन्य कथा पनि पठनीय रहेको बताउनुभयो । लेखक भक्त स्याङ्तानले तामाङ समुदायको दुख र पीडालाई कथामा समावेश गरिएको बताउनुभयो ।

लेखक स्याङ्तानले कथासंग्रहमा समावेश कथाहरुलाई आफूले शब्दमा व्याख्या गर्न नसक्ने उल्लेख गर्नुहुँदै उहाँले पाठकलाई कथा पढेर कथालाई बुझ्न आग्रह गर्नुभयो । ‘डम्फुको आत्मालाप’ सांग्रिला पब्लिकेसन्स्ले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्