८ मंसिर २०८१, शनिबार

कोलोराडोमा साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’ को गृह बिमोचन सम्पन्न

कोलोराडोखबर संवाददाता , May 20th, 2024

-मीन बोलखे (अमेरिका, कोलोराडो) । साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’ को अमेरिकाको कोलोराडोमा गृह विमोचन तथा पुस्तक चर्चा कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा मे १९ आइतबार कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) मा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

अनेसास बोर्ड अफ ट्रष्टीका सभापति कोलोराडो निवासी साहित्यकार विश्वकर्माको उपन्यास कृतिको गृह लोकार्पण कार्यक्रम वरिष्ठ गीतकार हिरण्य भोजपूरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि हिरण्य भोजपुरे, साहित्यकारहरु रमेश गुरुङ, तारा अधिकारी, प्रमिला शर्मा, सुनिल पाठक, डा. भीमप्रकाश कट्टेल र कमला विश्वकर्माबाट संयुक्त रुपमा पुस्तक लोकार्पण गरिएको थियो ।

समीक्षकद्वय साहित्यकारहरु डा. बिजयराज शर्मा र पुष्पराज पौडेलले विश्वकर्माको उपन्यास ‘पाताल’ माथि समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । त्यसैगरी अनेसासकी केन्द्रीय सदस्य तारा अधिकारीले लेखक विश्वकर्माको व्यक्तित्वका बारेमा प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा अनेसास पूर्व केन्द्रीय उपाध्यक्ष शान्तिराम ढकाल, कोलोराडो च्याप्टर परिवार, कोलोराडोस्थित ट्रस्टी र आजीवन सदस्यहरु, बिभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, कोलोराडोका गन्यमान्य विशिष्ट महानुभावहरु, समाजसेवीहरु, पत्रकारहरु र उल्लेख्य मात्रामा कोलोराडोवासी दाजुभाइ दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव किरण अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्