१२ आश्विन २०८१, शनिबार

नेजाको १७औं साधारण सभामा सहभागी हुन सदस्यहरुलाई चुले निम्तो

कोलोराडोखबर संवाददाता , May 15th, 2024

अमेरिका (बोस्टन) । यति बेला नेपाल अमेरिका पत्रकार संघ (नेजा) अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको संघको १७औं साधारण सभाको तयारीमा अहोरात्र जुटिरहेको छ । तयारी अन्तर्गत संस्थाले उक्त साधारण सभामा सहभागी हुन आफ्ना सदस्यहरुलाई अनुरोध गर्दै चुले निम्तो दिएको छ ।

संस्थाले यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) मा हुन गइरहेको उक्त साधारण सभामा आफ्ना सदस्यहरुलाई सपरिवार सहभागिता जनाउन चुले निम्तो दिएको हो ।

उक्त साधारण सभा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा हुने गरी आवश्यक तयारी गरिएको छ ।

नेजाका उत्तर–पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले आसन्न साधारण सभालाई संस्थागत, पारिवारिक र सामाजिक दृष्टिकोणले सफल र उपलब्धिमूलक बनाउन सम्पूर्ण सदस्यहरुलाई चुले निम्तो दिइएको बताए ।

संस्थाको यात्राको प्रारम्भ नै पत्रकारिता क्षेत्रमा लागेका अग्रज व्यक्तित्वहरुको पारिवारिक जमघटबाट भएको स्मरण गर्दै संयोजक बस्नेतले सोही मर्मलाई आत्मसात् गर्दै सदस्यहरुलाई परिवारसहित साधारण सभामा सहभागी हुन अनुरोधसहित चुले निम्तो दिइएको प्रस्ट्याए ।

‘संस्था जन्मिनुदेखि आजको बिन्दुसम्म आइपुग्दा संस्थाको सदस्यहरुका परिवारले ठूलो योगदान पुर्याएका छन् । यही मर्मलाई आत्मसात् गरेर पारिवारिक जमघटसहितको साधारण सभारअधिवेशन गरिदै आइएको छ। यस पटक पनि त्यसलाई निरन्तरता दिदै चुले निम्तो दिइएको हो ।’

उनले भने, ‘नेजाको साधारण सभालाई सफल बनाउन र साधारण सभाको कार्यादेश कार्यान्वयन गर्न सदस्यहरुको परिवारको उपस्थित र भूमिका पनि महत्वपूर्ण छ। त्यसैले सपरिवार साधारण सभामा उपस्थित हुनका लागि साधारणसभा मूल आयोजक समितिको संयोजकको हैसियतले सबै सदस्यहरुलाई अनुरोध गर्दै चुले निम्तो दिन चाहन्छु ।’

नेजाको स्थापनाकालदेखि नै साधारण सभा र अन्य कार्यक्रमहरुमा पनि संस्थाका सदस्यहरुको परिवारको सक्रिय सहभागिता रहँदै आइरहेको छ । जसलाई संस्थाको अलग पहिचान र संस्कारका रुपमा हेर्ने गरिएको छ । तर, परिवारका सदस्यहरुले साधारण सभामा सहभागिता जनाए तापनि, संस्थाको आधिकारिक निर्णय प्रक्रियाहरुमा भाग लिएर मत तथा अभिमत दिन भने पाउँदैनन् । संस्थाले आसन्न साधारण सभामा भाग लिनका लागि रजिष्ट्रेशन खुला गरिसकेको छ ।

संस्थाको विधानको धारा ९.३.२ मा व्यवस्था भए बमोजिम साधारण सभा वा अधिवेशनमा भाग लिन चाहने सदस्यहरुले तोकिएको साधारण सभाको मिति भन्दा ७ दिन अगाडि नै रजिष्ट्रेशन गरिसक्नु पर्दछ । सोही बमोजिम संस्थाले रजिष्ट्रेशन खुला गरिसकेको नेजाका उत्तर–पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिए ।

संस्थाले जनाए अनुसार १७औं साधारण सभामा भाग लिनका लागि रजिष्ट्रेशन गर्ने अन्तिम म्याद यही आउदो मे १७ तारिख शुक्रबार रातको १२ बजे (अमेरिकाको पूर्वीय समय अनुसार) सम्म मात्र रहेको छ । रजिष्ट्रेशनका लागि सदस्यहरुले संस्थाले उपलब्ध गराएको विद्युतीय फारम भरी तोकिएको शुल्क तिरेर आफ्नो नाम दर्ता गर्नु पर्नेछ । संस्थाले रजिष्ट्रेशनका लागि प्रति सदस्य १ सय पचास अमेरिकी डलर र परिवारसहितका लागि दुइ सय अमेरिकी डर रजिष्ट्रेशन शुल्क तोकेको छ।

रजिष्ट्रेशनका लागि लिंकः
https://www.neajausa.org/registration-for-17th-general-meeting/

प्रतिक्रिया दिनुहोस्