१० मंसिर २०८१, सोमबार

झसापको आयोजनामा कवि गगन योक्पाङ्देनको एकल कविता वाचन

कोलोराडोखबर संवाददाता , May 13th, 2024

नेपाल (हेटौंडा) । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरको आयोजनामा हेटौँडामा शनिबार युवाकवि गगन योक्पाङ्देनको नयाँ कृति केवाफुङको गीतमाथि परिचर्चा तथा कवि गगन योक्पाङ्देनको एकल कविता वाचन भएको छ ।

झसाप मकवानपुरको ३०३औँ साहित्य शृङ्खलाअन्तर्गत सो कार्यक्रम भएको संस्थाका सचिव मसान उपासकले बताए ।

साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा कवि गगनले आफ्ना ५ वटा उत्कृष्ट कविताहरू वाचन गरे । उनले उपहार, पानीको जीवन, छिमेकीलाई, छोरीको चकचक र नानीहरू शीर्षकका कविताहरू वाचन गरेका थिए ।

त्यसपछिको क्रममा उनको नविनतम् कविता कृति केवाफुङको गीत माथि समीक्षक घनश्याम घिमिरेले आफ्नो समीक्षात्मक मन्तव्य राखेका थिए । समीक्षक घिमिरले यो कृतिमा रहेका कविताहरू मौलिक रहेको, स्थानीय सरल बिम्बहरूको प्रयोग गरिएको र सबैप्रति समभाव राख्न खोजिएकाले उत्कृष्ट सङ्ग्रह बनेको धारणा राखे । साथै देश, माटो र श्रमप्रति भने समभाव राख्न नहुने उनको धारणा थियो । हामीले देश, माटो र श्रमप्रति आदर गर्न भुल्न नहुनेमा जोड दिए ।

दोस्रो चरणमा कवि गगनले पुनः ५ वटा कविता वाचन गरे । उनले साँइली सोल्टिनीको बैँश, पवन हलुवाईको दिनचर्या, एउटा घरको दिनचर्या र बाटोको आयु शीर्षकका कविताहरू वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कवि निमेष निखिलले सुदूरपूर्वको गाउँमा बसेर कविता कर्म गरिरहेको गगनको कविता मौलिक भएकोमा कविको पहिलो सफलता यही रहेकोमा जोड दिए । उनले धेरैजसो कविले पहिलो कृतिमा अरुसँग कविताको शैली मिलेको आरोप खेप्ने गरेकामा गगन यो मामिलामा जोगिएको टिप्पणी गरे ।

कार्यक्रममा मुक्तिगोविन्द बैद्य, भानु बोखिम, रामकुमार एलन, डिबि बर्तौला, राजकुमार लामिछाने, प्रमेन्द्र महर्जन, सागर तिमल्सिना, छवि अनित्य, देवराज तिवारी, सानु खनाल, सुबास खनाल, यस लामा, समर्पण न्यौपाने, किशन पौडेल, रजनी पौडेल, मेनु तिमल्सिना, मनोज पोखरेललगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता झसाप मकवानपुरका विश्वनाथ सञ्जेल गरेका थिए भने सहजीकरण सचिव मसान उपासकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्