१८ मंसिर २०८१, मंगलवार

मीनबहादुर गुरुङद्वारा बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा

कोलोराडोखबर संवाददाता , May 13th, 2024

नेपाल । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

गत शुक्रबार अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए ।

सहयोगको घोषणापछि गुरुङले अहिलेको समयमा धेरैलाई समस्या रहे पनि कसैले राम्रो काम गर्छ भने उसलाई सहयोग गर्न सबै तयार हुनुपर्ने र त्यो देशकै लागि सहयोग हुने बताए ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् । २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइदिएका छन् ।

उक्त भवन ११ करोड रुपैयाँमा निर्माण गरिएको थियो भने भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन पनि निर्माण गरिदिए । पछिल्लो ईएचएस भवन १५ करोड लागतमा निर्माण गरिदिएका हुन् ।

गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका हुन् ।

उनीहरुको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोर्दै आएको छ । भाटभटेनीले अहिले पनि ४१ करोड बराबरको भवन निर्माण गरिदिने घोषणा गर्दै गुरुङले उक्त भवन अहिलेसम्मकै अत्याधुनिक हुने बताए ।

करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना छ । यो भवनमा बेसमेन्ट पार्किङ, इमर्जेन्सी, त्यहाँ २० शैया रहनेछ भने सोही भवनमा आईसीयू, एनआईसीयूलगायत कक्ष रहनेछन् भने माथि हेलिप्याड पनि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्