–रमेशचन्द्र घिमिरे–
***
“कहाँ राखेँ, कसले लग्यो मनै डरायो
मेरो मोबाइल खोजिदेऊ न कता हरायो ?”
बाले यसो भनेपछि मोबाइल खोजियो
घरमा सोध्नु साटो पहिले अन्त सोधियो
***
भाइले भन्यो, “मोबाइल हिजो खाटमा थियो बाको”
बैनी भन्छे, “बिहानसम्म हातमा थियो बाको”
दाइको कुरा “घरमै खोजौँ बाहिर नजाऔँ
चोर्या छैनन् कसैले नि दोष नलाऔँ”
***
आमा मोबाइल खोज्दै हैरान भान्छा कोठामा
बज्यै खोज्न पुग्नुभयो गाईको गोठमा
खोज्दा खोज्दा नपाएर हत्तु भए सबै
नपाएको खबर बालाई भन्न गए सबै
***
बाले मोबाइल खोज्दै गर्दा भाइ चिल्लायो
जिस्क्याउँदै उल्टै उसले बालाई बिल्यायो
“हातको मोबाइल नदेखेर अन्तै सोध्ने बा
मोबाइलकै लाइट बाली मोबाइल खोज्ने बा !”
–भोर्लेटार, लमजुङ–
प्रतिक्रिया दिनुहोस्