नेपाल (हेटौंडा) । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–३ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा एक दिवसीय वैदेशिक रोजगार पारिवारिक मिलन कार्यक्रम सम्पन्न भएको छ ।
बैदेशिक रोजगारीबाट फर्किएकाहरुको पारिवारिक झैझगडा तथा विघटन रोक्न र आपसी माया, सद्भाव एवम् आत्मीयता बढाउन मद्धत पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको टोल विकास समितिका अध्यक्ष रोशन गोलेले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ढलकबहादुर थापाले वैदेशिक रोजगारीले नेपालमा पैसासँगै पारिवारिक कलह, आपसी अविस्वासको वातावरण भित्याइरहेको भन्दै वैदेशिक रोजगारीबाट फर्किएका, जान लागेका वा रोजगारीकै अवस्थामा विदेशमा रहेकाहरुको परिवारलाई यस्ता कार्यक्रमले निकै सहयोग पुर्याउने बताए ।
कार्यक्रममा सुरक्षित आप्रवासन सामी कार्यक्रमकी मनोसामाजिक परामर्शकर्ता प्रतिक्षा भट्टराई र पार्वती विकले सहभागीहरुलाई मनोसामाजिक समस्याको कारण तथा समाधानका उपायबारे सहजिकरण गरेका थिए ।
सहभागीहरुले परामर्श पाएपछि आफ्नो परिवारप्रतिको उत्तरदायित्व र प्रेम अझै प्रगाढ बनाउन मद्धत पुगेको बताए । उनीहरुले उत्सुकता प्रस्तुत गर्दै मनोसामाजिक परामर्शका लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमका परामर्शकर्ताहरुसँग नियमित सम्पर्कमा रहने र अझै जानकारी लिने बताए ।
कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि वैदेशिक रोजगारीबाट फर्किएर पारिवारिक मिलनमा रहेका परिवारहरु, स्थानीय जनप्रतिनिधि एवम् पत्रकारहरु उपस्थिति थियो ।
आयोजकले मनोपरामर्श पाएका परिवारलाई सम्मान गर्दै सफल पारिवारिक जीवनको शुभकामना समेत दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्