-प्रकट पंगेनी शिव-
गजल-१
ढोका खोली के पसिथ्यौ पिरतीको रन्को लाग्यो
छेउ आई के बसिथ्यौ पिरतीको रन्को लाग्यो ।
अंगअंग सुम्सुम्याउँदै लाली अधर सल्बलाउँदै
बाहुपासमा के कसिथ्यौ पिरतीको रन्को लाग्यो ।
विषकन्या होइनौ तिमी भए मलाई विष लाग्थ्यो
कामाग्निले के डसिथ्यौ पिरतीको रन्को लाग्यो ।
कुनै धार यस्ता हुन्छन् काट्दा पनि सन्चो लाग्छ
प्रेमको छुरा के धसिथ्यौ पिरतीको रन्को लाग्यो ।
त्यसपछि झन् रन्कैरन्को लाग्यो अन्ना तिम्रो कसम
अँगालोमा के कसिथ्यौ पिरतीको रन्को लाग्यो ।
०००
गजल-२
उठ्यो रिमै फेवातालमा छाल साँझपख
हान्यो रिमै माझीदाइले जाल साँझपख ।
त्यही जालमा जेलिएर निस्किन मत्स्यगन्धा
भेटेँ रिमै जालभित्र माल साँझपख ।
के हेरेथिन् एकै नजर लाग्यो मनमा वाण
भन्नुहोला म त रिमै बेहाल साँझपख ।
बान्की उनको हिसी उनको रूपै उनको देख्दा
सत्य रिमै निको थेन चाल साँझपख ।
हात माग्दा हात दिइन् चुप्पा माग्दा चुप्पा
कमाग्निले जल्यो रिमै ताल साँझपख ।
प्रतिक्रिया दिनुहोस्