११ आश्विन २०८१, शुक्रबार

एनआरएनएद्वारा पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णयको स्वागत

कोलोराडोखबर संवाददाता , November 10th, 2023

काठमाडौं । नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ ।

एनआरएनएका अध्यक्ष डा. बद्रि केसी र महासचिव गौरीराज जोशीले आज विज्ञप्ति प्रकाशित गरी उक्त निर्णयको स्वागन गर्नु भएको हो ।

सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाको लागि संघले सरकारसँग माग गर्दै आएको थियो । सन् २००९ मा तत्कालिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको आतिथ्यतामा लिस्वनमा भएको संघको तेस्रो क्षेत्रीय बैठकमा पोर्चुगलमा दूतावास स्थापना गर्नुपर्ने एजेन्डा घनीभूत रुपमा अघि सारिएको थियो ।

त्यसपश्चात पनि लगातार भएका सबै यूरोपेली क्षेत्रीय बैठकमा संघले संस्थागत रुपमा पोर्चुगलमा दूतावास स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । ‘डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलका बीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँस्थित २० हजार भन्दा बढी नेपालीहरुले राहत महसुस गरेका छन् । यससँगै दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीहरुले व्यहोर्दै आएको विभिन्न झन्झट समेत अन्त्य हुने विश्वास लिएका छौँ ।’, विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै पोर्चुगलमा स्थापना हुने नेपाली दूतावासमा सुनिल नेपाल राजदूतमा सिफारिस हुनुभएकोमा पनि एनआरएनले खुशी व्यक्त गर्दै उहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्