१२ आश्विन २०८१, शनिबार

क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रमको तयारी पूरा

कोलोराडोखबर संवाददाता , April 11th, 2024

कोलोराडो । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा अप्रिल १२, १३ र १४ मा दुई महत्वपूर्ण कार्यक्रम हुने भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा १५ वटा टिमले भाग लिने तय भएको छ ।

सोही अवसरमा भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार डलर नगदसहित पुरस्कारको व्यवस्था गरिएको जनजाती महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले जानकारी दिनु भयो ।

उक्त प्रतियोगितामा सहभागी हुन चाहने टोलीलाई दर्ता शुल्क ५ सय राखिएको थियो ।

त्यस्तै भलिवल प्रतियोगितसँगै अप्रिल १४ मा नेपाल डे समेत मनाईने र सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित परेडको आयोजना गरिने एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिनु भयो । नेपाल परेडबिहान ११ बजे सिटीहलमा हुनेछ ।

स्थानीय मार्केट स्ट्रिटमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत हुनेछ । कार्यक्रममा ३–४ हजार नेपालीभाषीहरु सहभागी हुने आंकलन गरिएको छ । कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रहेका एनआएनएन च्याप्टरबाट पनि सहभागिता रहने छ ।

एनआरएनए एनसीसीका अध्यक्ष डा. अर्जुन बञ्जाडेसहितका सम्पूर्ण पदाधिकारी र बीओडीहरुको सहभागिता रहने छ । यही अवसरमा सानफ्रान्सिस्कोमा एनआरएनए एनसीसी अमेरिकाको भौतिक रुपमा बोर्ड मिटिङ पनि गरिने तय भएको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिनु भयो ।

कार्यक्रम: भलिबल प्रतियोगिता
मिति: अप्रिल १२ र १३, २०२४ (बिहान ९:०० बजे)
स्थान : Alameda Point Gymnasium
1101 W Red Line Ave, Alameda, CA 94501
कार्यक्रम: नेपाल डे परेड
मिति: अप्रिल १४, २०२४ (बिहान ११:०० बजे)
स्थान: San Francisco City Hall
1 Dr Carlton B Goodlett Pl, San Francisco, CA 94102

प्रतिक्रिया दिनुहोस्