नेपाल । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
गएको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २ सय ७८ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७ सय ६१ र १ लाख ९२ हजार ५ सय ५९ रहेको थियो ।
यता, फागुन मसान्तसम्ममा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति बढेर १४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १६ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०–८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्