सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको ऐतिहासिक सहर बोस्टनस्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड (प्याब्फोन) ले संस्थालाई योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ ।
संस्था स्थापना कालदेखि हालसम्म संस्थाको विकासमा र गरिमा बढाउनमा यथासक्य आर्थिक, भौतिक तथा नैतिक रुपमा योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको हो। यसका लागि प्याब्फोनले गत मार्च ३१ तारिख आइतवारका दिन छढद्ध ध्बकजष्लनतयल क्तचभभत, द्यचबष्लतचभभ स्थित आफ्नै सामुदायिक भवनमा ‘ दाता, कलाकार, स्वयंसेवक एवम् मिडिया सम्मान कार्यक्रम’ को आयोजना गरेको थियो।
उक्त कार्यक्रममा पण्डित गोकुल कंडेल, संस्थाको बोर्ड अफ ट्रस्टिजका अध्यक्ष सुशीलचन्द्र पौडेल, ट्रष्टिजका उपाध्यक्ष द्वय मिलन गुरुङ र राम थापा, कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष एलिना श्रेष्ठलगायतले सम्मानित हुने व्यक्तित्वहरुलाई सम्मान स्वरुप खादा लगाउदै सम्मानपत्र प्रदान गरेर संस्थागत सम्मान प्रकट गरेका थिए ।
संस्थाको बोर्ड अफ ट्रस्टिजका अध्यक्ष सुशील चन्द्र पौडेलको अध्यक्षता रहेको कार्यक्रमको उद्धाटन पण्डित द्वय गोकुल कंडेल र रमेश पराजुलीले स्वस्ति वाचन गरेर गरेका थिए ।
कार्यक्रममा, संस्थाको विधान अनुसार एक लाख डलर दान गर्ने दम्पती शिव श्रेष्ठ र अन्जु श्रेष्ठलाई स-सम्मान संस्थाको संरक्षक सदस्य बनाइएको घोषणा गरिएको थियो । तर, आयोजकका अनुसार श्रेष्ठ दम्पती भने विशेष कारणवश राज्य बाहिर भएकाले सम्मानसहितको संरक्षक सदस्यता ग्रहण गर्न कार्यक्रममा उपस्थित हुन सकेनन् ।
कार्यक्रमको उद्घाटन पश्चात संस्थाको कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले सहभागी भएका अतिथिहरु, पण्डितहरु, सम्मानित हुने व्यक्तित्वहरु, संस्था परिवार, कलाकार, पत्रकार, फोटोग्राफर, स्वयंसेवक, सहभागीहरुलगायतलाई संस्थाको तर्फबाट स्वागत गरेका थिए । अध्यक्ष नेपालले संस्थाको स्थापना कालदेखि हालसम्म भएका संस्थागत महत्पूर्ण गतिविधिहरु र संस्थागत उपलब्धिहरुको स्मरण गर्दै संस्थाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।
अभियानका क्रममा हातेमालो गर्दै अमूल्य साथ सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरुप्रति कृतज्ञता प्रकट गर्दै उनले भने, ‘हाम्रो धेरै समस्याहरु छन्। तर, आज हामी समस्याहरु बताउदैनौं । आज हामीलाई यहाँसम्म ल्याइपुर्याउन महत्वपूर्ण भूमिका खेल्नु हुने तपाईं आदरणीय महानुभावहरुलाई सम्मानको चिनो दिउ भनेर यो कार्यक्रम गरिएको हो। ‘सम्बोधनका क्रममा अध्यक्ष नेपालले थपे,’ यो अभियानमा धेरै भन्दा धेरै महानुभावहरु जोडिनु भएको छ। एक डलर दिनेदेखि एक लाख डलरसम्म दिनेहरु हुनुहुन्छ। सबैको योगदानलाई हामीले त्यही ढंगले उच्च कदर गरेका छौं ।’
कार्यक्रममा संस्थाको कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष एलिना श्रेष्ठले संस्थाका अभियानहरुमा अमूल्य योगदान पूर्याउने व्यक्तित्वहरुको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन् । धन्यवाद मन्तव्य व्यक्त गर्ने क्रममा उनले संस्थाको महत्वाकांक्षी अभियान, दाता, संघ संस्था तथा सहयोगीहरुको योगदान, सामुदायिक एकता तथा धार्मिक सहिष्णुता, संस्थाको महत्व तथा गरिमालगायत महत्वपूर्ण विषयहरुलाई प्राथमिकताका साथ उठान गरेकी थिइन् । आपसी एकतााई मजबुत बनाउन र संस्थाको गरिमा बढाउन सानो सहयोगले पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले पशुपतिनाथ तथा बुद्ध मन्दिर केबल मन्दिर मात्र नभएर शान्ति, सामुदायिक एकता तथा सद्भावको केन्द्र पनि भएकोमा प्रस्ट्याइन्।संस्थाका महासचिव गौरव राज थपलिया, सचिव सञ्जय तिमल्सिना र प्रवक्ता परशुराम फूयालले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले संस्थाको तर्फबाट सबैलाई धन्यवाद दिदै कृतज्ञतासमेत व्यक्त गरेकी थिइन् ।
संस्थाको बोर्ड अफ ट्रस्टीजका अध्यक्ष तथा सम्मान कार्यक्रमका अध्यक्ष सुशीलचन्द्र पौडेलले सहयोगी सबै व्यक्तित्वहरुलाई धन्यवाद दिएका थिए । सम्बोधनका क्रममा उनले दाता तथा सहयोगीहरुको अमूल्य योगदानलाई सम्मान गर्न धन्यवाद शब्दले मात्र नपुग्ने जिकिर गर्दै संस्थाले गर्व गर्न लायक उपलब्धिहरु हासिल गर्न सफल भएकोमा सबैलाई बधाई ज्ञापन गरे ।
कार्यक्रमका अध्यक्ष पौडेलले औपचारिक कार्यक्रम समापन भएको घोषणा गरे लगतै मन्दिरमा भजनकीर्तन तथा आरती कार्यक्रम सुरु गरिएको थियो । भजनकीर्तन कार्यक्रममा सहभागी हुदै भक्तजनहरुले भगवानहरुको दर्शन, ध्यान, जप, पूजापाठ, आरती आदि धार्मिक गतिविधिहरु गरेका थिए । उक्त दिन विहानैदेखि मन्दिर खुला गरिएकाले सम्मान कार्यक्रममा सहभागी हुनेहरुले पनि मन्दिरमा गई भगवानहरुको दर्शन, पूजापाठ, प्रार्थना आदि गरेका थिए ।
सन् २०१२ मा स्थापना भएको यस संस्थाले सन् २०१९ अगष्ट ७ तारिखका दिन, फष्ट वाप्टिष्ट चर्चका रुपमा रहेको भवन ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड’ नाममा खरिद गर्न सफल भएको थियो। उक्त भवनमा पशुपतिनाथ तथा बुद्ध मन्दिरको स्थापना गरी गत वर्ष मे २७ देखि ३० तारिखसम्म ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न गरेर मन्दिरसहितको सामुदायिक भवन नियमित रुपमा सञ्चालन गरिदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्