नेपाल । नेपालमा आइतबार र सोमबार फागु पूर्णिमा अर्थात् होली पर्व मनाइदै छ ।
फागुन शुक्ल पूर्णिमाका दिन हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली पर्व मनाइने परम्परा छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ ।
नेपाल, भारतसहित विश्वभरी छरिएर रहेका हिन्दु धर्माबलम्बीहरुले यो पर्व मनाउने गर्दछन् । अमेरिकाको कोलोराडोस्थिल नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा मार्च २४ तारिक आईतबारका दिन दिउँसो १ बजे देखी ४ बजेसम्म नेपाली सांस्कृतिक केन्द्रमा होली खेल्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्