१२ आश्विन २०८१, शनिबार

मस्कोको कन्सर्ट हलमा बन्दुकधारीहरूको आक्रमणमा मारिनेको सङ्ख्या १३३ पुग्यो

कोलोराडोखबर संवाददाता , March 24th, 2024

रसिया । मस्कोको एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा मारिनेको सङ्ख्या १३३ पुगेको रुसका अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न र उनीहरूका सहयोगीमाथि कडा कारबाही गरिने बताएका छन् ।

इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन् ।

अधिकारीहरूले आक्रमणमा संलग्न चारजनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ परेका ११ जना शङ्कास्पद व्यक्तिहरूमध्ये चार जना प्रत्यक्ष संलग्न भएको बताइएको छ ।

एक जना रुसी सांसदका अनुसार घटनाका मुख्य आरोपी चारजना कारमा भागेर घटनास्थलभन्दा सयौँ किलोमिटर टाढा रुसको दक्षिण पश्चिमी क्षेत्र पुगिसकेका थिए ।

किएभका अधिकारीहरूले घटनाका आरोपितहरू युक्रेनी सीमातर्फ भाग्दै गरेको भन्ने रुसी सुरक्षा अधिकारीहरूको दाबीप्रति आपत्ति जनाएका छन् ।

नेपालले मस्कोमा भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै रुसी जनता र सरकार, घटनाका पीडित र उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ ।

अमेरिकामा ह्वाइट हाउसका प्रवक्ताले पनि गोलीकाण्डका पीडितहरूप्रति आफ्नो सहानुभूति रहेको जनाएको छ । फ्रान्स, स्पेन र इटलीले पनि आश्चर्य प्रकट गर्दै हमलाको निन्दा गरेका छन् ।

क्रोकुस सिटी हलमा एउटा रक कन्सर्ट सुरु हुन लाग्दा बन्दुकधारीहरू लबी र कार्यक्रमस्थलभित्र प्रवेश भित्र प्रवेश गरेका थिए ।

उक्त भवनमा आगो लागेको छ र छानोको अधिकांश हिस्सा जलेको छ । –बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्