१० मंसिर २०८१, सोमबार

हेटौंडामा गजल उत्सावः वाचन, गायन र बहस

कोलोराडोखबर संवाददाता , March 17th, 2024

नेपाल (हेटौंडा) । गजल मञ्च मकवानपुरले हेटौँडा गजल उत्सव सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा १४ गजलकारहरूबाट गजल प्रस्तुत भयो ।

गजल मञ्च मकवानपुरको २१२औँ नियमित सन्ध्याका क्रममा श्याम बानियाँ, विश्वनाथ सञ्जेल, यश लामा, सानु खनाल, धर्मराज स्याङ्तान, सुबास सजल, भवानी तिमल्सिनाले आ(आफ्नो गजल वाचन गर्नुभयो भने अजर फुयाँलले ‘फर्क अभियान’ अन्तर्गतको गजल गायन गर्नुभयो ।

विशेष गजल गायन–वाचनतर्फ बाबु त्रिपाठी, पुरूषोत्तम आचार्य, शितल कादम्बिनी, घनेन्द्र ओझा र रुपक वनबासीले आ–आफ्नो रचना प्रस्तुत गर्नुभयो ।

गजल स्रोताहरूको समेत सक्रिय सहभागिता रहेको कार्यक्रममा गजलसम्बन्धी बहस समेत सञ्चालन भयो । बहसमा घनेन्द्र ओझा, बाबु त्रिपाठी, शितल कादम्बिनी सहभागी रहनुभयो । ‘नेपाली गजलः यात्रा र गन्तव्य’ विषयक बहसलाई दीपक गौतमले सहजीकरण र निमेष निखिलले अभिभाकत्व ग्रहण गर्नुभयो ।

झन्डै २ दशकदेखि मकवानपुरमा सक्रिय गजल मञ्च मकवानपुरले पत्रपत्रिका प्रकाशन, युवा पुस्ताका सर्जकहरूलाई हौसला, विद्यालय तथा नवसर्जककेन्द्रित गजल लेखन र वाचन लगायतका श्रृङ्खलाहरू सञ्चालन गर्दै सक्रियरुपमा लेखन कार्यलाई जोड दिइरहेको सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले शुभकामना मन्तव्यका क्रममा बताउनुभयो ।

कार्यक्रममा गजलकारद्वय बाबु त्रिपाठीले नवपुस्तालाई सङ्कोच नमानीकन गजल लेख्नका लागि अनुरोध गर्नुभयो भने घनेन्द्र ओझाले शास्त्रिय गजल लेखनका खास नियमहरू रहेकाले अहिले नेपाली गजल लेखनमा कुनै मानक स्थापना नभएको र गजल भनेर गजल नलेखिएको बताउनुभयो ।

गजल मञ्च मकवानपुरको अध्यक्ष केशव समर्पणको अध्यक्षता, ४ नं वडा कार्यालय, हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमेन्द्र महर्जन, मनोज शाही, भरत घलान र शर्मिला श्रेष्ठको वाद्यवादन रहेको थियो ।

रोयल पार्टी प्यालेस, हेटौँडामा सम्पन्न कार्यक्रममा दीपक गौतम, मणिराज गौतम, राजकुमार लामिछाने, कृतिका लौडारी, सबिता तिमल्सिना, सुरेश श्रेष्ठ, छवि अनित्यलगायतका साहित्य सर्जक, पत्रकार, साहित्यसेवीहरूको उपस्थिति रहेको थियो ।

गजल मञ्च मकवानपुरका उपाध्यक्ष सञ्जित श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमलाई गजल मञ्च मकवानपुरका सचिव हरि पौड्यालले सहजीकरण गर्नु भएको हो । –नवसाहित्यबाट

प्रतिक्रिया दिनुहोस्