पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ ।
गत आइतबार सम्पन्न सम्मेलनले आठ बुँदे लिस्बन घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै नेपाली भाषा र साहित्यको प्रचार–प्रसार तथा प्रवासमा नेपाली भाषा पाठशाला सञ्चालनका लागि पनि पहल गरिनेबारे सम्मेलनमा छलफल भएको छ ।
यस अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्, सर्जक, स्रष्टा र साहित्यकर्मी भेला भएका थिए । यस सम्मेलनमा नेपाल, भारतसहित विश्वभरका ४० च्याप्टर गरी एक सय बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपालीसहित विभिन्न भाषा, कला, साहित्य र संस्कृतिका विषयमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुति र छलफल भएको थियो । सो अवसरमा दुई सय ५० अमेरिकी डलर राशिको नवरत्न पुरस्कार बेलायतनिवासी साहित्यकार माया गुरुङ र डा. सङ्गीता स्वेच्छालाई प्रदान गरिएको थियो ।
त्यसैगरी सम्मेलनका अवसरमा अनेसासको प्रकाशन रहेको ‘अन्तर्दृष्टि’ को स्वर्ण अंक सार्वजनिक गरिएको थियो । सन् १९९१ देखि प्रकाशन सुरु भएको अन्तर्दृष्टिका प्रथम प्रधान सम्पादक अनेसासका सल्लाहकार तथा पूर्व अध्यक्ष पुरु सुवेदी हुन् । हालसम्म १४ जनाले अन्तर्दृष्टिको प्रधानसम्पादकत्वको भूमिका निर्वाह गरिसकेका छन् ।
यसै अवसरमा अनेसासकी संस्थापक सदस्य स्व. नन्दादेवी सुवेदी स्मृतिग्रन्थ, पुरु सुवेदीको “पुरोधा” कवितासंग्रह, संगीता स्वेच्छाको “सेतो सिउँदो” अनेसासको ‘प्रवासी बालसिर्जना’, यात्रामा देश , सर्वज्ञ वाग्लेको ‘नेता बन छोरा नेता बन’ खुसी खनालका आठ पुस्तक सुरेन उप्रेतिका बालसिर्जनाहरू प्रतिमा केसीको प्रवासी मन, रत्न सुब्बाको बालसिर्जना, बालतरंग, ललितश्री सिक्किमबाट बालकवितासंग्रह सिक्किम च्याप्टर स्मारिका – विश्व सेतु, पूर्ण योन्जन , सिक्किम तामाङ जातीय चिनारी, बिमल गिरीको ‘अजम्बरी रसुनाखरी’ हाइकुसंग्रह, लतिका जोशीको जीवन अदृश्य पलहरू ललिता जोशीको ‘संवाद संजाल’ पत्रिकालगायतका कृतिहरूको लोकार्पण भएको छ ।
आठौँ सम्मेलनका अवसरमा अन्तर्दृष्टिका प्रथम प्रधान सम्पादक पुरु सुवेदीलाई ‘अन्तर्दृष्टि स्वर्ण सम्मान’ले सम्मानित गरिएको छ भने ‘अनेसास हिरो २०२४’ अनेसास न्युह्यामसायर च्याप्टरका प्रधान सम्पादक तथा पुरस्कार समितिका सदस्य ईश्वरी भट्टलाई प्रदान गरिएको छ ।
अनेसास पोर्चुगल च्याप्टरको संयोजकत्वमा भएको यस सम्मेलनमा प्रवासमा बसेर नेपाली भाषा साहित्य कला संस्कृतिका सम्वर्द्धनमा योगदान पुर्याएबापत दर्जनौँलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा अनेसासका अध्यक्ष गोवर्द्धन पूजा, बिओटी सभापति पदम विश्वकर्मा, सल्लाहकार रोहिणी शर्मा, पूर्वअध्यक्षहरु मोहन सिटौला, पुरु सुवेदी, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, एनआरएनए आइसिसी सचिव भीम केसी, आइसिसी सदस्य राजकुमार थापा, अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजीन राई, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, समाजका केन्द्रीय सदस्य यादव देवकोटा, पोर्चुगल च्याप्टरका अध्यक्ष सवी श्रेष्ठलगायतले नेपाली भाषा र साहित्यका विविध विषयमा धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्