८ मंसिर २०८१, शनिबार

बोस्टनमा भव्यताका साथ मनाइयो महाशिवरात्रि

कोलोराडोखबर संवाददाता , March 11th, 2024

सुपेन्द्र बस्नेत (बोस्टन) । अमेरिकाको बोस्टन स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा गत मार्च ८ तारिख शुक्रवारका दिन विविध धार्मिक क्रियाकलापहरु गरेर महाशिवरात्रि भव्यताका साथ मनाइयो ।

उक्त दिन ‘महाशिवरात्रि’ परेकाले हिन्दू धर्मावलम्बीहरु 594 Washington Street, Braintree स्थित सामुदायिक भवनमा स्थापित ‘पशुपतिनाथ’ को मन्दिरमा उपस्थित भइ महाशिवरात्रि मनाएका थि। उक्त मन्दिरमा स्थापना गरिएको पशुपतिनाथ, बुद्धलगायत देवी देवताहरुको मूर्तिहरुमा प्राण प्रतिष्ठा गरिएपछिको यो पहिलो ‘महाशिवरात्रि’ भएकाले विशेष रुपमा मनाउन भक्तजनहरुको बाक्लै उपस्थिति रहेको थियो ।

महाशिवरात्रिलाई विशेष रुपमा मनाउन बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन)ले आवश्यक प्रबन्ध मिलाएको थियो। कार्यतालिका अनुसार भक्तजनहरुका लागि विहान ८ बजेदेखि नै मन्दिर खुला गरी दिनभरि नै चरणबद्ध अखण्ड विविध धार्मिक क्रियाकलापहरु गरिएको थियो। जस अन्तर्गत शोस्ति वाचन, रुद्र अभिशेक (रुद्री पाठ), चण्डि पाठ, वेद पाठ, शिव पुराण, जप, महामृत्युन्जय, स्तोत्र पाठ, महादेवलाई जल अभिषेक, महाशिवरात्रि व्रत पूजा, आरति, भजनकीर्तन, महाप्रसाद आदि धार्मिक क्रियाकलापहरु सम्पन्न गरिएको थियो । उक्त विविध धार्मिक क्रियाकलापहरु वैदिक विधिपूर्वक सम्पन्न गर्न पूजापाठ तथा हवन गर्ने कार्यमा पण्डितहरु मूल पूजारी गोकुल कंडेल, मनोहर धिताल, दिनेश धिताल, खगेन्द्र घिमिरे, विष्ण प्रसाद आचार्य, गोपाल आचार्य, महेश सुवेदी, नविन पुडासैनी, दयालु पौडेललगायत अहोरात्र खटेका थिए ।

प्याब्फोन कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताए । लक्ष्य अनुसार नै कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै उनले शिवरात्रिलाई भव्यताका साथ मनाउने र बढी भन्दा बढी न्यू इङल्याण्डवासी नेपालीहरुलाई मन्दिरमा भित्र्याउने कार्यक्रमको मूख्य लक्ष्य रहेको र उक्त लक्ष्य पूरा भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा झण्डै हजार हाराहारी भक्तजनहरुले सहभागिता जनाएको बताउदै अध्यक्ष नेपालले धार्मिक क्रियाकलापहरु धार्मिक विधिपूर्वक सम्पन्न गरिएको दावी गरे । उनका अनुसार अमेरिकामा रहेर पनि आफ्नो धर्म अनुसारको धार्मिक गतिविधिहरु गर्न पाएकोमा सहभागी भक्तजनहरुले निकै खुशी हुदै आयोजकलाई धन्यवाद र आशिर्वाद दिएका थिए। उनीहरुले स्वस्फूर्त भएर मन्दिरलाई यथासक्य दानसमेत गरेका थिए ।

अध्यक्ष नेपालले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न अहोरात्र खटिने कार्यसमितिका साथीहरु, पत्रकार, स्वयंसेवकहरु, पण्डितहरु, प्रतक्ष्य परोक्ष रुपमा साथ सहयोग गर्ने सामाजिक संघ संस्था तथा व्यक्तित्वहरु, दाताहरु, भक्तजनहरुलगायतलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।

उक्त दिन बिहानैदेखि पूजापाठमा खटिएका पण्डित मनोहर धितालले पनि वैदिक शास्त्रले बताए अनुसार नै ‘भगवान शिव’को विशेष पूजा सम्पन्न गरिएको बताए। पण्डित धितालले अमेरिकामा रहेर पनि आफूले नेपालमा जानेको अति महत्वपूर्ण वैदिक धार्मिक कर्म गर्ने अवसर प्राप्त गरेकोमा निकै खुशी व्यक्त गरे । उनले भने, ‘वैदिक शास्त्र अनुसार नै विधिपूर्वक शिवरात्रिको पूजा सम्पन्न गर्यौं । महत्वपूर्ण जिम्मेवारी वहन गर्न पाएकोमा निकै खुशी लागेको छ। त्यसको लागि आयोजक तथा भक्तजनहरुप्रति कृतज्ञता प्रकट गर्दछु ।’

भगवान शिवको विधिवत् पूजापाठ, ध्यान, जप, आराधनलगायत धार्मिक गतिविधिहरु मार्च ८ तारिख विहान ८ बजेबाट शुभारम्म भइ भोलिपल्ट मार्च ९ तारिख बिहान सम्पन्न भएको थियो ।

झण्डै १४ वर्ष अघि सन् २०१२ मा स्थापना भइ आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ तथा बुद्ध मन्दिर स्थापना गर्ने महाअभियानमा प्याब्फोन होमिएको थियो। यसै शिलशिलामा, गत वर्ष मे २७ देखि ३० तारिखसम्म ४ दिने बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न गरिएको थियो । तत् पश्चात् मन्दिरमा हिन्दू धार्मिक पात्रो अनुसारका धार्मिक तथा सांस्कृतिक चाड पर्वहरुमा विशेष कार्यक्रमहरुको आयोजन गरी विविध धार्मिक क्रियाकलापहरु गरिदै आइरहेको छ । श्रद्धालु भक्तजनहरुलाई पनि देवीदेवताहरुको दर्शन तथा पूजापाठका लागि मन्दिर दैनिक खुला गरिदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्