१२ आश्विन २०८१, शनिबार

अमेरिकाको बोस्टन सहरका लागि गुरुङ पर्यटन प्रवर्द्धकमा नियुक्त

कोलोराडोखबर संवाददाता , March 7th, 2024

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । नेपाल सरकार अन्तर्गत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाको ऐतिहासिक पुरानो सहर बोस्टनका लागि मिलन गुरुङलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको छ ।

गत २०८० साल फागुन १३ गतेको मन्त्रालयको मन्त्रीस्तर निर्णयले पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९(पहिलो संशोधन मिति २०८०–९–१७) को दफा ३ को उपदफा १ बमोजिम गुरुङलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको हो । उनीसहित हाल अमेरिकाका लागि जम्मा ५ जनालाई नियुक्त गरिएको छ ।

नियुक्त हुनेहरुमा न्यू योर्कका लागि पत्रकारिता क्षेत्रका चिरपरिचित गोकुल श्रेष्ठ, पेन्सिलभेनियाका लागि बिनोद अधिकारी९दोश्रो पटक नियुक्त, नर्थ क्यारोलिनाका लागि बिक्रम घिमिरे (दोश्रो पटक नियुक्त( र मेरिल्याण्डका लागि राजु पराजुली (यस अघि डेलावर राज्यका सद्भावना दूत) रहेका छन् । उक्त कुरा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो । जारी विज्ञप्ति अनुसार अमेरिकासहित अन्य देश–राज्य–शहरका लागि जम्मा २९ जनालाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको छ ।

नियुक्त भएकाहरुले नियुक्ति पत्र भने पाउन बाँकी नै छ । मन्त्रालयले नियुक्त भएकाहरुलाई छिट्टै नै नियुक्ति पत्र उपलब्ध गराउने गरी आवश्यक प्रक्रिया अगाडि बढाइसकेको श्रोतले जनाएको छ ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस अघि यस्तै प्रकृतिको नियुक्ति सद्भावना दूत सम्बन्धी कार्यविधि, २०७९ को आधारमा गर्ने गरेको थियो। तर, गत २०८० साल फागुन १३ गतेको मन्त्रीस्तर बैठकले उक्त कार्यविधि खारेज गरी पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९(पहिलो संशोधन मिति २०८०–९–१७) लागू गरेको हो । यो कार्यविधि लागू भएसंगै सद्भावना दूत सम्बन्धी कार्यविधि, २०७९ अन्तर्गत नियुक्त भई बहाल रहेका सबै प्रकारका सद्भाना दूतहरुको नियुक्ति खारेज गरिएको छ ।

नियक्त भएसंगै गुरुङले नेपाल सरकारले विश्वास र भरोसा गरेर नियुक्ति गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

उनले विगतमा आफूले पर्यटन क्षेत्रमा काम गरेर अनुभव बटुलिसकेको र त्यही अनुभवहरुलाई उपयोग गर्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्दो योगदान पुर्याउन सक्रिय रहेने बताए । पदीय जिम्मेवारी नहुँदा पनि अमेरिकाको बोस्टनमा रहेर नेपाल र नेपालीको उज्जवल भविश्यका लागि प्रत्यक्ष अप्रतक्ष्य रुपमा सक्दो काम गरेको र त्यही कामको आधारमा नेपाल सरकारले नियुक्त गरेको गुरुङले दावी गरे । औपचारिक रुपमा नेपाल सरकारबाट पदीय जिम्मेवारी प्राप्त भएकाले उत्साहीत रहेको प्रतिक्रिया दिदै उनले भने, ‘म निकै उत्साहित छु । पदीय जिम्मेवारी नहुँदा पनि विगतदेखि नै नेपाल र नेपालीको उज्जवल भविश्यका लागि काम गर्दै आइरहेकै हो। अब त पदीय जिम्मेवारी प्राप्त भएको छ। थप सक्रियताका साथ काम गर्ने छु।’

अमेरिकाको ऐतिहासिक सहर बोस्टन विश्वकै लागि महत्वपूर्ण पर्यटकीय क्षेत्र भएको बताउदै गुरुङले बोस्टनमा रहेर नेपालको पर्यटन विकास र प्रवर्द्धनमा उल्लेखनीय कार्य गर्न सकिने आधारहरु प्रशस्त रहेको जिकिर गरे। उनले आफूले पाएको जिम्मेवारी इमानदारीताका साथ निर्वाह गरने प्रतिबद्धसमेत व्यक्त गरेका छन् ।

सन् २००५ मा अमेरिका भित्रिएका गुरुङ अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा परिवारसंगै बस्दै आइरहेका छन् । बोस्टनमा रहदा बस्दा उनी सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेर सामाजिक क्रियाकलापहरुमा सक्रिय रहदै आइरहेका छन्। उनी बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) का पूर्व अध्यक्ष हुन् । पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड (प्याब्फोन) को संस्थापक चियर पर्शन रहेका गुरुङ, हाल प्याब्फोनका बोर्ड अफ ट्रष्टी उपाध्यक्ष रहेर सामाजिक कार्यहरुमा सक्रिय रहिरहेका छन् । पेशाले भने उनी घरजग्गा खरिद बिक्रीमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्