१० मंसिर २०८१, सोमबार

अनेसासले पुरु सुवेदी र इश्वरी भट्टलाई सम्मान गर्ने

कोलोराडोखबर संवाददाता , March 7th, 2024

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले अन्तर्दृष्टिको स्वर्ण अंक प्रकाशनको अवसर पारेर पुरु सुवेदीलाई ‘अन्तर्दृष्टि स्वर्ण सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

अमेरिकाको वासिङटन डिसीमा सन् १९९१ मा स्थापना भएको अनेसासले १९९३ देखि मुखपत्रको रुपमा अन्तर्दृष्टिको निरन्तर प्रकाशन गरिरहेको छ ।

पुरु सुवेदी अन्तर्दृष्टिका प्रथम प्रधान सम्पादक हुनुहुन्छ । अन्तर्दृष्टि को स्वर्ण ५० औँ अंक मार्च ९ मा पोर्चुगलमा सम्पन्न हुने आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लोकार्पित हुँदैछ । उक्त सम्मेलनमा सुवेदीलाई अन्तर्दृष्टि स्वर्ण सम्मान गर्न लागिएको हो ।

अन्तर्दृष्टिका संस्थापक प्रधानसम्पादक सुवेदी अनेसासका पूर्व अध्यक्ष हुनुहुन्छ भने हाल अनेसास बिओटी सल्लाहकार हुनुहुन्छ।

यसैबीच, अनेसासको उद्देश्यबमोजिम नेपाली भाषा र साहित्यको विस्तारमा उल्लेख्य योगदान पुर्याएवापत न्यूह्यामसायरका ईश्वरी भट्टलाई ‘अनेसास हिरो– २०२४ अर्पण गरिने भएको छ ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा विहिवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अनेसास न्यूह्यामसायरको स्थापना कालदेखिनै च्याप्टरमा सक्रिय रहेर अनुजलाई प्रोत्साहन , अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी, कृति प्रकाशन, प्रेरणा र संयोजनकारी भूमिका निर्वाह गरेका भट्टका आमा र माटो, केही फूलका थुंगाहरू, आकाश पारिबाट लगायतका कविता कृति प्रकाशित छन् ।

अनेसास न्यूह्यामसायरका संस्थापक महासचिव भट्ट हाल अनेसास पुरस्कार समिति सदस्य र च्याप्टरको प्रधान सम्पादक रहेका छन् । बिसं २०१९ मा गोरखाका जन्मिएका भट्ट लामो समयदेखि अमेरिकाको न्यूह्यामसायरमा बसोवास गर्दै आएका छन् ।

सो सम्मान अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही मार्च ०८–१०, २०२४ मा पोर्चुगलमा हुने आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अवसरमा समर्पण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्