९ मंसिर २०८१, आईतवार

भजन शिरोमणी भक्तराज आचार्यप्रति अमेरिकाको कोलोराडोमा श्रद्धाञ्जली अर्पण

कोलोराडोखबर संवाददाता , March 5th, 2024

कोलोराडो । गत फेब्रुअरी २६ तारिखका दिन दिवंगत हुनुभएका प्रख्यात नेपाली गायक भजन शिरोमणी भक्तराज आचार्यप्रति अमेरिकाको कोलोराडोमा गत शनिबार श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

कोलाराडोवासी गायन क्षेत्रका नेपाली कलाकार, साहित्यकार एवं कला र संस्कृतिका अनुरागीहरु भेला भई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

श्रद्धाञ्जली अर्पण समारोहमा गायक मनोजराज शिवाकोटी लगायत अन्य कलाकारद्वारा स्व. भक्तराजका केही प्रख्यात भजन, राष्ट्रिय गीत र आधुनिक गीतहरु गाइएको थियो । गायक एवं संगीतकार सुरेशचन्द्र प्रधान, गायक मनोज तुलाधर, तवला वादक सुरेन्द्र महर्जन, नवोदित गायक अंकित नेउपाने आदिले गायन र बाद्यवादनमा साथ दिएका थिए ।

कार्यक्रको शुभारमभमा साहित्यकार एवं गीतकार ज्ञानेन्द्र गदालले स्व. आचार्यको जीवनी प्रस्तुत गरेका थिए ।

सांगीतिक श्रद्धाञ्जलीको पहिलो प्रस्तुति स्वरुप सेक्सोफ़ोनमा ‘जहाँ छन् बुद्धका आँखा’ गीतको धून बजाइएको थियो । त्यसपछि केही भजन, गजल र आधुनिक गीतहरु गाएर श्रद्धेय गायकप्रति श्रद्धासुमन अर्पण गरिएको थियो । अन्तमा बमबहादुर थापाद्वारा रचित ‘जहाँ छन् बुद्धका आँखा’ बोलको सर्वाधिक लोकप्रिय राष्ट्रिय गीत सामुहिक रुपमा सबैले गाएर स्व. आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

समाजसेवी एवं कुशल व्यवसायी दिनेश भट्टराई तथा मन्जु भट्टराइको सौजन्यमा प्राप्त याक एण्ड यति रेस्टुरेन्ट ,डेनभरको सभाकक्षमा आयोजित उक्त श्रद्धाञ्जली अर्पण समारोहको संचालन कवि एवं समाजसेवी रमिता तुलाधरले गरेकी थिइन् ।

कार्यक्रममा गीतकारहरु साबु गदाल कार्की, बिर्ख गुरुङ, धन पौडेल, गजलकार भुपेन्द्र महत लगायत स्थानीयवासी नेपालीहरुको उल्लेख उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्