१९ पुष २०८१, शुक्रबार

नेपालका रक्षामन्त्री खड्का र अमेरिकी नौसेनाध्यक्ष जोहनबचि शिष्टाचार भेट

कोलोराडोखबर संवाददाता , February 26th, 2024

अमेरिका । आइतबार रक्षामन्त्री पूर्णबहादुर खड्का र अमेरिकाको एसिया–प्रशान्त कमाण्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोबीच शिष्टाचार भेट भएको छ ।

उक्त अवसरमा रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीच सन् १९४८ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर रहेको बताउँदै नेपालको विकासमा अमेरिकाले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे ।

संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका माध्यमबाट नेपालले विश्वशान्ति स्थापनामा निरन्तर योगदान गर्दै आएको र भविष्यमा पनि नेपालले सुरक्षाकर्मी परिचालन गरेर त्यसलाई निरन्तरता दिने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे । संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा धेरै सैनिक र महिला शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा रहेको नौसेनाध्यक्षलाई जानकारी दिए।

नौसेनाध्यक्ष एक्विलिनोले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर जारी रहने र भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नतिमा सघाउन अमेरिकी सरकार सकारात्मक रहेको बताए । उनले विश्वशान्ति स्थापनामा नेपाली शान्ति सैनिकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थोम्सनले अमेरिका र नेपाल लामो समयदेखि असल मित्रका रूपमा सहकार्य र साझेदारी गर्दै आएका तथा भविष्यमा पनि मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने बताए ।

प्रतिक्रिया दिनुहोस्