-आर. आर. चौलागाईं-
म त एउटा बफादार झोले कार्यकता हुँ पार्टीको
कहिले कसको कहिले कसको
नेताका झोलाहरू बोकेर हिँड्ने गर्छु ।
पहिला पहिला झोलामा
कम्युनिस्ट पार्टीको घोषणापत्र हुन्थ्यो
रेडबुक हुन्थ्यो
मार्क्सवाद र लेनिनवादका ठेलीहरू हुन्थे
माओ त्से तुङ, चाउ एन लाई र तेङ स्याओ पिङका जीवनीहरू हुन्थे
किम इल सुङका लेखहरू हुन्थे
हो चि मिन्हका संस्मरणहरू हुन्थे
गोन्जालोका गाथाले भरिएका पुस्तिकाहरू हुन्थे
चे ग्वेभाराका तिलस्मी कथाहरू हुन्थे
म्याक्सिम गोर्कीको `आमा´
याङ मोको `युवाहरूको गीत´ भन्ने उपन्यासहरू
र लु सुनका कालजयी रचनाहरू हुन्थे
अनि वर्ग विश्लेषण र संसार परिवर्तन गर्ने किताबहरू हुन्थे
त्यतिबेला झोला बोक्ने मेरा हजुरबा हुनुहुन्थ्यो ।
पहिला पहिला झोलामा
रामेश, मञ्जुल, जेबी टुहुरे, अरिम, रामकृष्ण दुवाल, रायन, माधव प्रधान, ओम श्रेष्ठ, विजय सुब्बा, शम्भु राई, उदय श्रेष्ठ र लोचन भट्टराईका गीति क्यासेटहरू हुन्थे
सङ्कल्प, झिसमिसे, नौलो साहित्य, वेदना, लहर, अनुभूति, उत्साह, श्रमिक, मजदूर सन्देश, महिलामुक्ति आदि पत्रिकाहरू हुन्थे
मोदनाथ प्रश्रितका
`देवासुर सङ्ग्राम´ र `नारी बन्धन र मुक्ति´ भन्ने किताबहरू हुन्थे
मुकुन्द न्यौपाने अर्थात् उदय शर्माका
`आमा´ र `फूलबारीको कथा हवाईको व्यथा´
भन्ने गीतिनाटकहरू हुन्थे
नेत्रलाल अभागीको `सतिसाल मात्र ठिङ्ग उभिन सक्छ´
विक्रम सुब्बाको `सगरमाथा नाङ्गै देखिन्छ´
अनि विमल निभाको
`आगोनेर उभिएको मानिस´भन्ने कवितासङ्ग्रहहरू हुन्थे
त्यतिबेला झोला बोक्ने मेरा बा हुनुहुन्थ्यो ।
अहिले झोलामा
कसैका पनि किताब हुँदैनन्
कसैका पनि क्यासेट हुँदैनन्
बरु अहिले झोलामा
जग्गा प्लटिङका नक्शाहरू हुन्छन्
लालपुर्जाहरू हुन्छन्
तासका गड्डीहरू हुन्छन्
किलोका किलो सुन र तोलाका तोला सुनका गहनाहरू हुन्छन्
नोटका बिटाहरू हुन्छन्
ब्ल्याक लेबल र रेड लेबलका बोतलहरू हुन्छन्
अनि कन्डमका प्याकेटहरू हुन्छन्
अहिले झोला बोक्ने मचाहिँ नाति हुँ ।
झोला बोकेरै हजुरबा बित्नु भो
बा बुढो हुनु भो
अब मेरो पनि यो जुनी झोला बोकेरै बित्लाजस्तो छ ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्