१२ आश्विन २०८१, शनिबार

बाग्लुङ पञ्चकोटमा सञ्चालित महायज्ञमा एनआरएनएद्वारा ११ लाख ११ हजार रुपैयाँ दान

कोलोराडोखबर संवाददाता , February 22nd, 2024

अमेरिका । बाग्लुङ पञ्चकोटमा सञ्चालित महायज्ञमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का तर्फबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरिएको छ।

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाका अनुसार बुधबार शुरु भएर १३ दिनसम्म चल्ने ‘अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ’ को पहिलो दिनमै पञ्चकोट पुगेका एनआरएनए पदाधिकारी एवं अभियन्ताहरुले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

महायज्ञ उद्घाटनका दिन ‘जल, वातावरण संरक्षण र उर्जा विकास’ विषयक सम्मेलनमा आयोजकका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।

बाग्लुङ पञ्चकोटको समग्र विकास र प्रवर्द्धनमा लक्षित महायज्ञमा सो सहयोग संकलन गर्नको लागि संघका सल्लाहकार चिरन्जिबी ढकालको संयोजकत्वमा एक समिति गठन भएको थियो ।

ढकालले आर्थिक प्रतिबद्धता गरेका दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै बाँकी रकम संघको च्यारिटी खातामा जम्मा गर्न आग्रह गर्नुभएको छ ।

सो अवसरमा एनआरएनए उपमहासचिव सोम सापकोटा, युरोप उपसंयोजक महेश अधिकारी, पूर्व आइसीसी सदस्य कोशलेश्वर ढकाल, एनआरएनए यूके उपाध्यक्ष लिलाराम न्यूरे, एनआरएनए यूके सल्लाहकार नारायण फुंयाल, नटिङहम नेपाली समाजका इश्वर कंडेललगायत महायज्ञमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्