नेपाल । नेकपा एमाले केन्द्रीय समितिको बैठक मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ ।
बैठकमा पेश भएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘शुद्धीकरण र सुदृढीकरण’ सम्बन्धी प्रस्तावमा पार्टीको काम प्रभावकारी रुपमा संचालन हुन नसक्दा जनतामा विश्वास जाग्न नसकेको उल्लेख छ ।
अर्का उपाध्यक्ष विष्णु पौडेलले जनआधारित पार्टी निर्माण सम्बन्धी प्रस्ताव, उपमहासचिव शंकर पोखरेलले पार्टी संगठन र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार, जनपरिचालन सम्बन्धी प्रस्ताव बैठकमा पेस गरेका छन् ।
केन्द्रीय सदस्यहरूका नौ समूह विभाजन गरी यी प्रस्तावमाथि बुधबार छलफल हुनेछ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन पूर्णतः असफल भएको बताए ।
गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै उहाँले गठबन्धनको असफलताले देशको आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि क्षेत्रमा संकट देखापरेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत आफ्नो एक वर्षको समीक्षा गर्दा आफू सुध्रिने बताएको भन्दै उहाँले गठबन्धन पूर्णअसफल भएको आरोप लगाउनुभयो ।
त्यस्तै शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तयार नभएको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन कोसिस गरेको हो, तर त्यतिबेला प्रचण्डजी र शेरबहादुरजीले मान्नुभएन । के सोख हो उहाँहरूको थाहा भएन ।’
प्रतिक्रिया दिनुहोस्