२ माघ २०८१, बुधबार

काँग्रेस महासमितिमा पाँच प्रतिवेदन पेश, बुधबार र बिहीबार छलफल हुने

कोलोराडोखबर संवाददाता , February 21st, 2024

नेपाल । सोमबारदेखि शुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भए भने बुधबार ती प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

बैठकमा पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए ।

त्यसैगरी महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गरेका हुन् ।

बैठकमा उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए ।

महामन्त्री थापाले साङ्गठनिक प्रस्ताव पेश गर्दै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिए । एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गरे । उनले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी सङ्गठनलाई बलियो बनाउने बताए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्ष र संविधान सभाको मार्गबाट आएको नेपालको वर्तमान संविधानबाट नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताए ।

पार्टी प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई कांग्रेसले आत्मासात् गर्ने बताए । उनले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिए । उनले अर्थतन्त्रलाई गतिशील बनाउन पहल भइरहेको बताए ।

त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको जनाए ।

महासमिति बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्