नेपाल (रौतहट) । अमृता स्कुल अफ एग्रिकल्चरल साइन्सेस कोयम्बतुर, तमिलनाडु (भारत) मा अध्ययनरत चौथो वर्षका विद्यार्थीहरूले आफ्नो (रावे) कार्यक्रमको एक भागको रूपमा कोयम्बतुरकै माईलेरिपालयम गाउँमा कृषक जागरुकता कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा कलेजको सहयोगमा विद्यार्थीहरुले प्रदर्शनीमार्फत गाउँका किसानहरुलाई स्थानीय बालीका परम्परागत प्रजातिबारे जागरुक गराएका छन् ।
विद्यार्थीहरुले धान, इमली, सजिवन, खुर्सानी आदिका परम्परागत बिउबिजन देखाउँदै किसानहरुलाई परम्परागत किसिमले आयमूलक व्यावसायिक खेतीका लागि प्रोत्साहन गरेका छन् । किसानहरुलाई परम्परागत कृषि जागरुकतामार्फत पहिलेदेखि चलिआएका बालीमा रोग नलाग्ने, प्रतिरोधात्मक क्षमता बढी हुने, एन्टिअक्सिडेन्ट, भिटामिन र खनिजहरु बढी हुने तथा शरीर र पर्यावरणलाई नोक्सान नहुने आदि विषयवस्तुमा जानकारी गराएका छन् ।
यस प्रकारको खेतीले जमिनको क्षय नहुने, जैविक विविधता संरक्षण हुने, जैविक मलको उत्पादन हुने र रासायनिक मलको निर्भरता कम हुने तथा आहारको पोषक विविधतलाई वृद्धि गरी किसानहरुलाई सकारात्मक लाभ प्राप्त हुने जानकारी गराइएको छ । परम्परागत बालीको संरक्षण र कृषिको प्रवद्र्धनले कृषकको आयमा पनि वृद्धि हुने विश्वास विद्यार्थीहरुले किसानहरुलाई दिलाएको कार्यक्रममा सहभागी रौतहटकी विद्यार्थी सृष्टि गुप्ताले जानकारी गराएकी छन् ।
किसानहरुले पनि रुचि र चासोपूर्वक कार्यक्रममा सहभागी हुँदै उत्पादनको बजारीकरण तथा सांस्कृतिक महत्वको दृष्टिकोणले बालीको उपयोगको बारेमा प्रष्ट पारेका छन् ।
प्रदर्शनी कार्यक्रम स्कुल डिन डा. सुधीश मनालिल, समूह सहजकर्ता डा. वि मार्थान्डन, डा. जी बूपति, डा. वि वनिताको मार्गदर्शनमा विद्यार्थीहरुले सम्पन्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्