११ मंसिर २०८१, मंगलवार

कविताः पार्टी कि देश ?

कोलोराडोखबर संवाददाता , February 17th, 2024

–आर.आर. चौलागाईं–

यहाँ पार्टीहरू छन्
पार्टीका नेता र कार्यकर्ताहरू छन्
पार्टीको चुनाव चिन्हमा भोट हाल्ने मतदाताहरू छन्
तर नेपालीहरू छैनन् ।

यहाँ देशभन्दा पार्टी माथि छ
देशलाई अप्ठ्यारो पर्दा कोही पनि बोल्दैनन्
तर पार्टीको लागि ज्यान दिन्छन् ।

यहाँ मान्छेहरू
पार्टीको चिन्ता गर्छन्
पार्टीबारे छलफल गर्छन्
पार्टीको भविष्यबारे बहस गर्छन्
पार्टीको गतिविधिबारे अन्तर्क्रिया गर्छन्
तर देशको लागि केही पनि गर्दैनन् ।

यहाँ मान्छेहरू देशलाई होइन
पार्टीलाई बलियो बनाउँछन्
पार्टीको भक्ति गर्छन्
पार्टीको चाकरी गर्छन्
देश अहिले अचेत भएर लडेको छ
तर देशलाई एक थोपो पानी पनि खुवाउँदैनन्
देश अहिले कोमामा पुगेको छ
तर देशलाई एक ट्याब्लेट सिटामोल पनि दिँदैनन् ।

महाशय !
भोलि देश रहेन भने
तपाईं कहाँ बस्नुहुन्छ ?
तपाईँको पार्टी के हुन्छ ?
तपाईं राजनीति कहाँ गर्नुहुन्छ ?
तपाईँ मलाई चित्तबुझ्दो जबाफ दिन सक्नुहुन्छ ?

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्