–रमेशचन्द्र घिमिरे–
कागजका पानामा कलमको मसीले
यौटा चित्र कोर्दैछे सानी बैनी शशीले ।
धर्को टेढोमेडो छ चित्र खर्याखुरु छ
तै’नि सानी बहिनी त्यसै फुरुफुरु छ ।
कतै रङ्ग पोतरी कतै मसी खन्याई
कसो–कसो गरेर हेर्न हुने बनाई ।
राम्रै चित्र बनाएँ भन्ने लाग्यो होला र !
साथीभाइ सबैलाई ल्याएकी छ बोला’र ।
के नै चित्र कोर्छन् र यस्ता झिना–मसिना
भन्नु हुन्न उस्को यै हो मिहिनेत र पसिना
राम्रो छैन यो चित्र भन्दा शशी रुन्न र ?
आफ्नो-आफ्नो सिर्जना कस्लाई प्यारो हुन्न र !
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्