–मसान उपासक–
तिमी आँउदा
सँगै जुन ल्याउनु
सँगै घाम ल्याउनु
अलिकति प्रेम मिसिएको माटो ल्याउनु
र खुल्ला आकाश ल्याउनु
म जुन, घाम, माटो र आकाशलाई
आफूलाई भन्दा धेरै मन पराउँछु ।
तिमी आँउदा
आँगनको फूल मगमगाओस्
आकाशको जुन जगमगाओस्
रोकियोस् हावाको वेगवान गति
र चुमोस् हावाले सुस्त वहदै
तिमीले सँगै ल्याएको तिम्रो आँचल
म मेरो आँगन, फूल र हावालाई
आफूलाई भन्दा धेरै मन पराउँछु ।
तिमी आँउदा
नयाँ संविधान बनोस्—प्रेमको
नयाँ फूलबारी बनोस्—स्नेहको
नयाँ बाटो बनोस्—नैतिकताको
नयाँहरुकैबीचमा बनोस् धेरै नयाँ
र प्रेमिल देखियोस् हाम्रो धर्ति
म प्रेम, स्नेह, नैतिकता र धर्तिलाई
आफूलाई भन्दा धेरै मन पराउँछु ।
तिमी आँउदा
म मेरी आमालाई सुम्सुम्याउदै हुनेछु
म मेरो भाइलाई पढाउँदै हुनेछु
बहिनी मलाई नै घुर्की लगाउँदै हुनेछे
समग्रमा म मात्र म भएर बाँचिरहेको
अभिनयमा विलिन हुनेछु
ठिक त्यसै समय तिमी
उदाउँदै गरेको कलिलो घाममा
निश्छल प्रेम भरेर उदाउनु
म तिमीलाई
आफूलाई भन्दा धेरै मन पराउँछु ।
–बकैया–४, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्