१२ आश्विन २०८१, शनिबार

अध्यागमन विभागले शुरु गर्यो ईभिसा र अनलाइन भुक्तानी सेवा

कोलोराडोखबर संवाददाता , February 10th, 2024

नेपाल । अध्यागमन विभागले अबदेखि ईभिसा जारी गर्दै अनलाइन भुक्तानी प्रारम्भ गरेको छ ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ईभिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ईभिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।

अध्यागमन विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको जनाएको छ ।

अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुमा पूर्ण रुपमा डिजिट र स्वचालित रुपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् । विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ ।

यो सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न,पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने,आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अध्यागमन विभागबाट लिने सेवा शुल्क, भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैंकहरुका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक कनेक्ट आइपीएस,इसेवा र खल्तीको खाताबाट अनलाइनमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था पनि लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्