–आरसी रिजाल–
सपनामा एक्कासि नेपाली शब्दकोशको पाना फर्कियो । हाइलाइट गरेको ‘प्रतिबद्ध ’ शब्दमा आँखापर्यो । शब्द बोल्न पो लाग्यो । म झसङ्ग भएर ब्युझिएँ ।
…
त्यही शब्द दोस्रो दिन आयो र मलाई विनम्रतापूर्वक भन्यो–तपाईं साहित्यकार हुनुहुँदोरैछ । मेरो नाम एकेडेमीको शब्दकोशबाट हटाउन लगाइदिनुस् न ।
–म एकेडेमीको पदाधिकारी होइन भने । उ निराश भयो । केही नबोली गयो ।
…
शब्द तेस्रो दिन पनि आयो । मैले नै सोधेँ–शब्दकोशबाट किन बाहिरन खोजेको ?
शब्दले भन्यो–राजनेता भनाउँदाले मेरो खिल्ली उडाइरहेछ्न् । शक्तै नशक्ने कुरा गर्छन् । अस्ति एउटा नेताले–भ्रष्टाचार निर्मुलपारी देशमा सुशासन कायम गर्ने । शिक्षा,स्वास्थ्य निःशुल्क पार्ने ।अनि सबै नेपालीका लागि खाना, नाना र छानाको व्यवस्था गर्ने ‘प्रतिबद्धता’ व्यक्त गर्द्छु भन्यो ।
मैले–काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । तिमीले चित्त दुखाउनु उपयुक्त हुँदैन भनी संझाएर बिदा गरेँ ।
…
केही दिनपछि ‘प्रतिबद्ध’ू निन्याउरो अनुहार पारेर फेरि आयो र भन्नथाल्यो– साह्रै असैह्य भयो । म आत्महत्या गरौँ कि भनी सल्लाह माग्न आएको ।
–तेस्तो के पर्यो ? मैले सोधेँ ।
–८० को भूकम्प भन्दा अब आउने भूकम्पमा कम मान्छे मार्ने, हाम्रो शेषपछी सत्ता युवापुस्तालाई सार्ने , बलात्कारीको संख्या निर्मुलै पार्ने, अनि नेपाललाई स्वर्ग तुल्याई नेपालीलाई स्वर्गवासी तुल्याउने ‘ प्रतिबद्धता’ व्यक्त गर्द्छु भन्दै त्यसका अपवित्र मुखले मेरो नाम ओकलेको सुन्दा मलाई भाउन्न भयो भन्यो ।
…
‘प्रतिबद्ध’ ले मेरो निद्रा बारम्बार खल्बलाउन थालेपछि एकदिन मैले उसलाई सत्य कुरा भने– यो धर्मनिरपेक्ष राष्ट्र हो । यहाँ एउटा धर्मले अर्को धर्ममाथी हिलो छ्याप्न नमिल्ने संवैधानिक व्यवस्था कायम गरिएको छ । त्यसरी बोल्नु नेताहरुको धर्म भएकोले तिम्रो ढिपी चल्दैन भने ।
त्यसपछि प्रतिबद्ध कहाँ गयो फर्किएको छैन…।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्