बोस्टन । अमेरिकाको न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासले मासाच्युसेट्स राज्यको बोस्टनमा सञ्चालन गरेको दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरको पहिलो दिन, १३३ जना सेवाग्राहीहरुले सेवा लिएका छन् । जस मध्य ११७ जनाले पास्पोर्ट नविकरण र १६ जनाले अन्य सेवाहरु लिएका छन् ।
उक्त शिविर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा Alewife Brook Park way, Cambridge, MA-02138 मा सञ्चालन भइरहेको छ। उक्त शिविरबाट म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने प्रवासी नेपालीहरुले सेवा लिएका थिए ।
एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले अपेक्षा गरिए भन्दा निकै बढी संख्यामा सेवाग्राहीहरुले पहिलो दिनमै सेवा लिएको जानकारी दिए। उनका अनुसार, सिमित जनशक्तिका कारण प्रारम्भमा व्यवस्थापन गर्न केही कठिनाइ भएको भएतापनि, त्यसलाई सक्दो व्यवस्थापन गरिएको थियो । उनले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर बिहान ९ बजेबाट सुरु गरिएको सेवा, साँझ साँडे आठ बजेसम्म प्रदान गरिएको बताए ।
अध्यक्ष श्रेष्ठले लक्ष्य गरिएभन्दा निकै बढी संख्यामा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सकिएकोमा खुशी व्यक्त गरेका छन्। उनले दोश्रो दिन अर्थात् फेब्रुअरी ४ तारिकमा पनि बिहान ९ बजेदेखि नै सेवा प्रदान गर्न सुरु गरिने र ३ बजे बन्द गरिने जानकारी दिए । यस कन्सुलर सेवा घुम्ती शिविरमार्फत सेवाग्राहीहरुलाई राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण(Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी(Tourist Visa), अन्य Attestation सम्बन्धी कागजातहरुका सेवाहरु प्रदान गरिदै छ। शिविरमार्फत छिटो, छरितो, चुस्त, दुरुस्त र गुणस्तरीय सेवाहरु प्राप्त गर्नका लागि आवश्यक तयारीका साथ सेवा प्रदान गरिने स्थानमा सेवा लिन आउन महावाणिज्यदूतावासले सेवाग्राहीहरुलाई अनुरोधसमेत गरेको छ।
यस सम्बन्धमा थप जानकारीका लागि यहाँ क्लिक गर्नु होला।
प्रतिक्रिया दिनुहोस्