कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा यस वर्ष कोलोराडोमा अन्तराष्ट्रिय नारी दिवस मनाइने भएको छ । ९ मार्च २०२४ (शनिबार) का दिन कोलोराडोस्थित नेपाली घरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा कोलोराडोमा पहिलोपटक राष्ट्रियस्तरको कार्यक्रम हुन लागेको हो ।
एनसीसी अमेरिकाकी महिला उपाध्यक्ष सुनिता कँडेल, महिला सचिव शान्ति वाग्ले पौडेल, महिला संयोजक सुनिता खत्री, एनसीसी अमेरिकाका बोर्ड सदस्यहरु सिर्जना शर्मा, दुर्गा तिवारी, सरु शर्मा र रितादेवी प्रधान, कोलोराडो च्याप्टरकी महिला उपाध्यक्ष दिलकुमारी श्रेष्ठ, महिला सचिव संगिता लामा, महिला संयोजक श्रृति पाण्डे, कोलोराडो च्याप्टरकी बीओडी सुनन्दा डंगोल र शर्मिला शर्मा तथा कोलोराडो नेपाली महिला फोरमकी संयोजक श्रृजना भट्टको नेतृत्वमा कार्यक्रम सम्पन्न गर्न लागिएको हो ।
विभिन्न संघसंस्थाका अगुवा महिलाहरुको नेतृत्वमा बन्ने समिति र उपसमितिहरुसहित विभिन्न क्षेत्र र विधाका विज्ञहरुद्वारा कार्यक्रम सफल पारिने छ । कोलोराडो बाहिरबाट आउने पाहुनाहरुलाई बस्ने–खाने व्यवस्थाका लागि होटलहरुसँग केही दिनमा सम्झौता गरिने बुझिएको छ ।
यसैबीच एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजना तथा कोलोराडो नेपाली महिला फोरम र कोलोराडो क्षेत्रमा क्रियाशील अन्य सम्पूर्ण स्थानीय संघसंस्थाको समन्वयमा कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने तयारी शुरु गरिएको छ ।
कोलोराडोमा पहिलो पटक राष्ट्रिय स्तरको कार्यक्रम हुन लागेकाले सम्पूर्ण संघसंस्थाको साथ र सहयोगमा कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गर्ने तयारीमा जुटेको एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो । ‘यो कार्यक्रम सम्पन्न गर्न पाउनु कोलोराडोवासी सम्पूर्ण नेपालीहरुको लागि गौरबको विषय हो, तसर्थः कार्यक्रममा सबैको साथ र सहयोग रहनेमा आशावादी छौं’–अध्यक्ष पौडेलले भन्नुभयो ।
अमेरिकामा एनआरएनएका २९ च्याप्टर छन् । यी सबै च्याप्टरबाट कार्यक्रममा सहभागिता रहने छ । कार्यक्रममा करीब ५०० जनाको सहभागिता रहने प्रारम्भिक आंकलन छ । ‘हामी कार्यक्रमलाई हरेक हिसावले व्यवस्थित र ऐतिहासिक बनाउन लागि परेका छौं’–एनआरएनए कोलोराडोका निवर्तमान अध्यक्ष आरसी पन्तले बताउनु भयो ।
यसवर्ष कोलोराडोमा आयोजना हुने अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमका लागि अमेरिकास्थित सम्पूर्ण च्याप्टरहरुको आर्थिक लगायत सबै प्रकारको सहयोग रहने निवर्तमान अध्यक्ष पन्तले बताउनु भयो ।
एनआरएनए एनसीसी अमेरिकाबाट एउटा ठूलो अवसर पाएको बताउँदै त्यो अवसरलाई गम्भीरताका साथ पूरा गर्न आफूहरु एक महिना अघिबाटै विशेष तयारीमा जुटिसकेको कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष बाशुदेव खनालले बताउनु भयो ।
यता ९ मार्च २०२४ का दिन कोलोराडो नेपाली घरमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागिताका लागि एनआरएनए एनसीसी अमेरिकाका महासचिव रामहरी अधिकारीले सबैलाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रमकालाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजना बनाउने चरणमा रहेकाले यदी यस सम्बन्धी कुनै प्रश्न, सल्लाह सुझाव वा थप जानकारी चाहिएमा [email protected], [email protected] मा इमेल गर्न समेत महासचिव अधिकारीले अनुरोध गर्नु भएको छ ।
अन्तराष्ट्रिय नारी दिवस कहिलेदेखि मनाउन थालियो ?
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट जर्मनी मार्क्सवादी नेतृ कलारा जेट्किन सेक्रेटरी भइन् ।
त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । न्यू योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि बिजारोपण भएको थियो ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।
सन् १९७५ मा संयुक्त राष्ट्र संघले त्यसलाई मनाउन सुरु गरेपछि नारी दिवस औपचारिक रूपमा अन्तर्राष्ट्रिय बन्न पुग्यो ।
प्रतिक्रिया दिनुहोस्