नेपाल । उद्योगपति तथा सांसद विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेपछि अन्य व्यवसायीहरु पनि शसंकित भएका छन् ।
एफएनसीसीआई र सीएनआईले पत्रकार सम्मेलन गरी व्यापारीहरुलाई अनुसन्धानको नाममा पक्राउ गरी आतंकित पार्न खोजिएको भन्दै विरोध जनाएका छन् ।
बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा बिहीबार पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले व्यवसायी चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका चौधरी र थापालाई स्वास्थ्यमा समस्या देखिएको भन्दै बिहीबार साँझनै महाराजगंज स्थित चिरायु अस्पताल भर्ना गरिएको छ । थापा ८२ वर्षका छन् । उनको मुटुको समस्या छ । चौधरीलाई पनि रक्तचापको समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको हो ।
यसैबीच यही प्रकरणमा सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् । उनलाई शुक्रबार अदालतमा उपस्थित गराएर म्याद थप गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्