-लक्ष्मी ‘रेशमी’-
चिसो मौसममा
जमेको हिमताल जस्तै
चिसिएका जीवनहरुलाई
अँगेनोको राप र पारिलो घामले
केहि फरक परेको छैन ।
हिँउले पुरीएका सेताम्मे पहाड जस्तै
मन मस्तिष्कमा कुहिरोले
ढाकेको छ छपक्क
उजाड छन् वन पाखा
सुनसान छन् गोरेटो अनि पँधेरो
गोठालोहरूको पदचाप सुनिन्न
एकोहोरो बजिरहने सुसेलीहरु ।
हराएका छन् भिडहरुमा
आफैँले आफैँलाइ बिर्सेर
खोजिरहेका छन् आफ्नै परिचय
छिमेकी र पराई देशहरूमा
मौसम फेरिनेछ
पालुवा पलाउनेछन् पाखाभरी ।
शिशिरको यो मौसम
बसन्तमा बदलिनेछ एकदिन
कोपिलाहरू फक्रनेछन्
बागहरूमा सुगन्ध फैलनेछन्
कोइलीले गाउनेछ्न् हरेक बिहान
र मौसम बदलिनेछ ।
चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्