११ पुष २०८१, बिहीबार

माघ १३ देखि २६ गतेसम्म गगन थापा संवाद यात्रामा निस्कदै

कोलोराडोखबर संवाददाता , January 24th, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा माघ १३ देखि २६ गतेसम्म जनताका समस्या बुझ्न संवाद यात्रामा निस्कँदै छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत झापाबाट संवाद यात्रा थाल्ने भएका हुन् ।

झापाको भद्रपुर मेची पुलबाट गगनले उक्त अभियान थाल्ने भएका हुन् । थापाले निरन्तर स्थानीयका पिरमर्का बुझ्ने, समस्या सुन्ने र कांग्रेसप्रति स्थानीयको धारणा जानकारी लिने छन् ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम तय भएको छ ।

गगनको यो यात्राका क्रममा औपचारिक कार्यक्रमसहितको भाषण भने हुने छैन ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अन्य नेताहरुको संवाद यात्रा अझै तय नभएको बताए ।

माघ १५ गते सम्बन्धित वडामा पुगी वडा कार्यसमितिको बैठकमा राख्नुपर्नेछ भने १६ गते शहीद दिवसको दिन ६७४३ वटै वडामा ‘समुदायमा कांग्रेस अभियान’को प्रारम्भ हुनेछ ।

यो अभियानले ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ भनेको छ । माघ १३ देखि २६ गतेसम्म पहिलो चरण तोकिएको छ ।

दोस्रो चरणको अभियान भने पार्टीको आगामी फागुन ७ देखि १० गतेसम्म बस्ने तय भएको महासमितिको बैठक (नीति महाधिवेशन) पछि हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्