नेपाल (हेटौँडा) । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको नवौँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संघका अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका १८ स्थित गुम्बाडाँडामा भएको साधारण सभाका वक्ताहरुले बीउबिजनमा नेपालको परनिर्भरता बढ्दै गएको भन्दै देशभित्रै गुणस्तरीय बीउ उत्पादनका लागि नीति निर्माणमा जोड दिइएको थियो ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलले राम्रो बीउ हुँदा उत्पादन वृद्धि हुने भन्दै गुणस्तीरय बीउ आवश्यक भएको बताउनुभयो ।
उहाँले नेपालमा कृषिसम्बन्धी प्रविधि हस्तान्तरणमा बीउबिजन व्यवसायीको ठूलो योगदान रहेको बताउँदै आयात प्रक्रिया लामो हुँदा बीउ आउन ढिलाई हुने गरेको बताउनुभयो ।
नेपाल बीउ व्यवसायी संघका केन्द्रीय महासचिव विश्वराज बानियाँले बिउबिजनसम्बन्धी नियमावलीको अभावमा बीउबिजन दर्ता रोकिएको भन्दै मौसममा आएको परिवर्तनले पनि कृषि उत्पादनमा समस्या आएको बताउनुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आर्थिक मन्दीले देशको सबै क्षेत्र प्रभावित भएको बताउँदै कृषियोग्य जग्गा प्लटिङ र युवा विदेसिने क्रम बढ्दै गएकोले कृषि उत्पादन प्रभावित भएको बताउनुभयो । उहाँले बीउबिजन व्यवसायीको समस्या समाधानमा उद्योग वाणिज्य संघले सहजीकरण गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बीउ व्यवसायी संघ बागमतीका उपाध्यक्ष हरिशरण अर्याल, नेपाल विषादी व्यवसायी संघ चितवन नेपाल अमोदराज कंडेल, बीउबिजन व्यवसायी सुदर्शन विष्टलगायतले गुणस्तरीय बीउको अभाव हुँदै गएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्