–राम उदित–
गुडुर गुडुर हल्लिरहेका छन्
डाइसका गोटीहरू
उनीहरूलाई केवल
हल्लिनु छ र
पटकपटक
उत्तानो पर्नु छ ।
सत्रन्जा फिँजाइएको छ भुँइमा
शिरमा बस्ने श्रीमुकुट
त्यही भुँइमा खसेको छ
हिमाल माथि लहराउने झण्डा
त्यही भुँइमा तेर्सिएको छ
सान, सौकत ,सुरत सबैमा
दाउ थापिएका छन्
पुर्ननिर्माण पर्खिरहेको इँटा दाउमा छ
सम्मानको सगुन बन्नु पर्ने पानमाथि
पनि दाउ थापिएको छ
दाउ जहाँ सुकै लागोस्
उनीहरूलाई केही मतलब छैन
बदलामा जेजे सोहोरियोस्
उनीहरूलाई बाल मतलब छैन
हल्लाउने अर्कै छ
हामीलाई सबैथोक दाउमा राखेर पनि
रमिते बन्नु छ
कतै दोब्बर चौब्बर हातलागि
हुन्छ कि भनि तिनैतिर फर्कनु छ ।
केवल हल्लिनु छ उनीहरूलाई
पैसा सोहोर्ने मामलामा कुनै भन्सार
कार्यालयभन्दा कम छैनन् उनीहरू
उत्तानो पर्ने मामलामा
कुनै संसद भन्दा कम छैनन् उनीहरू
उता अस्मिताको तिलहरी दाउमा छ
यता स्नेहको प्रतीक पान दाउमा छ
उनीहरू गुडुर गुडुर हल्लिरहेछन्
यो बन्द बट्टा भित्रको हल्लाइ
कुनै संसद घरको कोलाहल भन्दा कम छैन
दाउ थाप्नेहरूको झुण्डमा
आफ्नै शिरपोष र पगरी दाउमा
राख्ने राजकुमारहरू छन्
आफ्नै धर्मपत्नी दाउमा राख्ने
पञ्च पाण्डवहरू छन्
दाउमा जे जे लागोस्
उनीहरूलाई मतलब छैन
जसले जेजे पाओस्
उनीहरूलाई मतलब छैन
हल्लिनु जस्तो आनन्द केही छैन
आहा यी गोटीहरूको करामत
कत्ति मनमोहक छ
गुडुर गुडुर हल्लिरहेछन् डाइसका
गोटीहरू…।
चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्