१५ बैशाख २०८२, सोमबार

राप्रपाका अध्यक्ष लिङ्देनको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति

कोलोराडोखबर संवाददाता , April 28th, 2025

नेपाल । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोटेश्वरस्थित भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा कांग्रेसका एक सहमहामन्त्रीका छोरासमेत संलग्न भएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले विज्ञप्तिमार्फत कांग्रेसका एक सहमहामन्त्रीका छोरासमेत संलग्न भएको, प्रहरीद्वारा समातिएको र गृहमन्त्रीको आदेशले उनको रिहाइ गरिएको भनी अध्यक्ष लिङ्देनले दिएको अभिव्यक्ति भ्रमपूर्ण रहेको भन्दै भर्त्सना र निन्दा गरेको छ ।

कांग्रेसले राप्रपाका कार्यकर्ताहरुले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्न सो अवाञ्छित कार्यको दोष एक जिम्मेवार र सभ्य नागरिकमाथि लगाएको भन्दै निन्दा गरेको छ । यही वैशाख १२ गते राप्रपा अध्यक्ष लिङ्देनले संसदमा आफ्नो मन्तव्यका क्रममा सो अभिव्यक्ति दिएका थिए ।

एउटा राजनीतिक पार्टीका अध्यक्षकोतर्फबाट संसदमा आधारहीन कुरा प्रस्तुत गर्नुभन्दा पनि आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउनतर्फ विशेष ध्यान दिन विभागका प्रमुख मीनबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले अध्यक्ष लिङ्देनलाई राजनीतिक अभिष्ट पूरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र संसद्समेतको गरिमालाई ध्यानमा राख्न आग्रह गरेको छ । साथै त्यस्ता कपोलकल्पित र भ्रामक कुराबाट सचेत रहनसमेत कांग्रेसले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्