१४ बैशाख २०८२, आईतवार

सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अब गल्न थालेको प्रधानमन्त्री ओलीको टिप्पणी

कोलोराडोखबर संवाददाता , April 27th, 2025

नेपाल । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका टिप्पणी गरेका छन् ।

नेकपा (एमाले) संसदीय दलको बैठकमा उनले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’ मा केन्द्रित हुन दलका सांसदहरुलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । ‘

प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिँदै संसदीय दलका नेता नेता ओलीले अवाञ्छाति गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउन सरकार पछि नपर्ने बताए । अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैँले गर्नतिर लाग्नुपर्ने बताए ।

एमाले मिसन २०८४’ मार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरण हुन लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उनले जोड दिए । उनले पार्टी दस्तवेजहरुको अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत एवं तथ्यमा आधारित भएर सदनमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्