–सुवास खनाल–
‘मलाई अनुभव भइरहेको शरिरको यो कम्पन ज्वरोको हो वा अभावको कुनै आकृति हो ?’
जब समीरसँग मेरो भेट भयो, मलाई लाग्यो ऊ यही सोचेर बसिरहेको छ । समीर अध्ययनमा राम्रो व्यक्ति हो । म उसको कोठामा गत महिनाको हप्तान्त भेट्न गएको थिएँ । एमएस्सीको प्रवेश परीक्षा दिने बेलातिर उसको र मेरो पहिलो भेट भयो । अहिले अन्तिम वर्ष । अध्ययनको यो तह झन्डै समाप्त हुन लागेको छ । कलेज अध्ययनको सिलसिला सकिइसकेको छ तर परीक्षा भने सुरु भएको छैन । म भेट्न पुग्दा ऊ अलिक बिमारी रहेछ । ऊ भन्दै थियो–‘यार ! यो इक्जाम पनि नदिऊँ जस्तो लाग्दैछ ।’
उसका कुराले मेरो मनमा नराम्रो चस्का दियो । म सोच्दै थिएँ –‘परीक्षा जस्तो विषय पनि यति सजिलै नदिने भन्ने विचार ऊसँग कसरी जन्मियो ?’
उसको कोठामा माकुराका जालाहरू प्रशस्तै लागेको थियो । बिमारीकै कारण कोठा सफा गर्ने परिस्थिति नमिलेको हुन सक्छ भन्ने सम्झेँ । सहरमा सस्तै खालको कोठामा ऊ बस्ने गरेको छ । यो उसको रहर होइन ।
ऊ विवाहित हो । मलाई उसका घरायसी कुराहरू पनि जानकारी नै छ । उसका घरायसी कुरा थाहा हुनुको मूल कारण एमएस्सी प्रवेश परीक्षाको बेलातिर ऊसँग मेरो भेट अलिक बाक्लै हुनु होे । उसको चिया पार्टनर बनेको थिएँ म त्यसबेला । बीचमा मैले कोठा बदलेँ । यही कारण उसको र मेरो कोठाको दूरी बढेको थियो । कक्षामा बाहेक भेटघाट पनि पातलिएको थियो ।
ऊ सुनाउँथ्यो –उसकी श्रीमती उतै घरमा आमालाई स्याहार गर्दै बसेकी छिन् । आमा धेरै उमेर भएकी त होइनन् तर उमेरमै कामको भारले धेरै थिच्यो । उनलाई चाँडै रोगले भेट्यो । कमजोर भइन् । ‘यो परिस्थिति संस्कृतिले दिएको अचम्मको जिम्मेवारी हो ।’ श्रीमतीले यसो भन्ने गरेको ऊ बताउँछ ।
‘हुन पनि हो, मेरी आमालाई मैले बढी स्याहार गर्नुपर्ने । मेरी श्रीमतीको भन्दा मेरो बढी जिम्मेवारी हुनुपर्ने । तर बाध्यता यस्तै हुँदोरहेछ । समाजले मलाई बाहिरको काममा खटाउँछ । उसलाई घर सम्हाल्न भन्छ । ’, ऊबाट मतर्फ यस्तै गहिरो ध्वनी तरङ्ग आइरहेको थियो । मेरो मनलाई यसले गह्रुङ्गो बनाइरहेको थियो ।
ऊ एउटा बोर्डिङ स्कुलमा कम तलबमा काम गथ्र्यो । गफैगफको सिलसिलामा कुनै दिन मैले भनेको थिएँ–‘यार कसरी सकिन्छ ? पूरा समय काम गरेर एमएस्सी पढ्न ? यो कुनै जोक त होइन नि ? त्यसमाथि फिजिक्स, यो त पूरै भारी तौलको विषय हो ।’
मैले विषयको भार बोध गराउने उद्धेश्यले ऊसँग यस्तो कुरा गरेको थिएँ ।
उसले पनि प्रत्युत्तरको सिलसिलामा भन्यो –‘हो, जसरी तिमी पूरा काम गरेर अध्ययन गर्नु असम्भव हुन्छ भन्दैछौ नि ? त्यो तिम्रो व्यक्तिगत कुरा हुनसक्छ । मेरो कुरा अर्को छ –मैले पूरा काम नगरी पढ्नुचाहीँ असम्भव छ । पैसा पकेटमा उब्जिने कुरा होइन नि यार । युनिभर्सिटीको शुल्क बुझाउनै पर्यो । कोठा खर्च नि तिर्नु छँदैछ ।’ उसको उत्तरले मेरो भनाइमाथि गम्भीर प्रहार ग¥यो । म नराम्ररी चस्किएँ । मैले त्यसो नभनेकै भए वेश हुन्थ्यो कि भन्ने लागिरह्यो । ऊ र मबीच हुने यस्तै खालका वार्तालाप मेरो दिमागको भित्ताहरूमा बेलाबेलामा फन्का मारिरहन्थ्यो । मलाई त्यसले नराम्रो पीडा दिन्थ्यो ।
पछिल्लो पटकको उसको अभिव्यक्तिले मलाई निकै नमज्जा लाग्यो । म अलिक हतास भएँ । मलाई लाग्यो –‘ऊ किन परीक्षा नै नदिने विचारको तहसम्म पुग्दैछ ?’
मैले उसलाई भनी पनि हालेँ –‘तिमी यो तहसम्म विना रुकावट उत्तीर्ण हुँदै आएका छौ । तिम्रो कक्षाको प्रस्तुती प्रभावपूर्ण छ । मलाई तिम्रो यो निर्णय कुनै बाल निर्णयझैँ पो अनुभूति भइरहेछ । तिमीले जुन सुकै शर्तमा पनि यो परीक्षा छोड्नु हुन्न । परीक्षामा सामेल भएर तिमीले आफूलाई सक्षम सावित गर्नुपर्ने हुन्छ । अरु कुनै समस्या भए त्यस विषयमा कलेज प्रशासन वा अरु जहाँ छलफल गर्नुपर्छ त्यहाँ हामी मिलेर गरौँला ।’
‘बाल निर्णय ? बाल निर्णय यो तहको हुनै सक्दैन । मैले मेरो जीवनमा मैले सोचेको औपचारिक अध्ययनको अन्तिम वर्षको परीक्षा छोड्न खोज्दैछु । यो स्तरको निर्णयलाई कुन अर्थमा बाल निर्णय भन्दैछौ ?’ –उसले मतिर प्रश्न तेस्र्यायो । जुन प्रश्न मेरो मनमा ऊ प्रति उठेको प्रश्नभन्दा जब्बर र कठीन महसुस गराउने किसिमको हुन पुग्यो ।
ऊ मलाई बताउँदै थियो – ‘मन परापर भएपछि उसले भगाएर ल्याएको उसकी श्रीमती गाउँमा दुख गरेर बसेकी छिन् । विवाह गर्नुपरेका भए त ऊ आजीवन एक्लो हुने थियो । बजारमा सुनको भाउ आकाशिएको भन्दै थियो ऊ । ऊ सधैँका निम्ति बन्धकी बस्दा समेत् तिर्न नसकिने भएको छ, सुनको भाउ । अहिलेको समाजमा बिहे गर्नु भनेको आफू बेचिनु जस्तो भइसकेको छ । आफ्ना रहरहरू त बरू रोकेरै बस्न सकिएला । तर श्रीमतीका रहरहरूले उसलाई पोल्ने गर्दछ ।
‘उनी यत्ति असल र ज्ञानी छिन् नि, सबै अभाव हाँसेरै पचाइदिन्छिन्, जसले मलाई पीडा गराउने गर्दछ ।’ – यो अभिव्यक्तिमा ऊ रुँलारुँला झैँ गर्छ ।
ऊ भन्छ –‘कहिलेकाहीँ त उनलाई मैले फसाइदिएँझैँ लाग्छ । उनी मसँग नभएकी भए अरू कसैसँग सुख र खुसीमा हाँस्दै जिउँथिन् होला । उनी मसँग खुसी भएको अभिनय त गर्दै छिन् तर म स्पष्ट देखिरहेको छु– उनको हाँसोले थुप्रै पीडाका पहाडहरू छेल्दै बस्छन् । जसले मलाई सधैँ जलाउने गर्छ ।’
उनलाई आमा बन्न मन लागेको कुरालाई उनीहरूको बाध्यताले नियोजन गरिहेको छ । आमा बन्न मात्र सजिलै होला ,तर जिम्मेवारीका साथ आमाबाबु बन्ने भन्ने कुरा त फरक हो । ऊ सम्झिँदै सुनाउँछ –‘गाउँमा थोरै भएको पाखे बारीमा उत्ति उब्जनी आउँदैन । आमाको सधैँ खाने औषधी किन्न पनि धौ–धौ परिरहेको छ ।’
गाउँको घरमा उसका दाजु भाउजु छन् । उनीहरू छुट्टाभिन्ना भइसकेका छन् ।
‘अब यो औपचारिकतामा मात्र बाँकी रहने सम्बन्ध रहेछ भन्ने कुरा कसैलाई बताइरहनु आवश्यक छैन ।’ –यो उसले धेरैपटक दोहोर्याई तेहेर्याई भनेको मेरो स्मरणमा ताजै रहेको छ ।
‘डेरामा बसेको घरको धारोमा पानी राम्रो आउँदैन । भाइरलकै कारण हुनुपर्छ , यो कोठामा सरेपछि मलाई ज्वरो र रुघा लाग्न थालेको छ । पानीको पैसा तिर्न नसक्दा घरबेटीले धारो बन्द गरिदिन्छन् र इनारको पानी खानुपर्छ । जुन खास सफा हुँदैनँ ।’ –ऊ यसो भन्दै थियो ।
ऊ खाने कुरामा राम्रो ध्यान दिँदैन भन्ने मलाई उसको सङ्गतले जानकारी गराइसकेको थियो । अल्छी लागेको बेला ऊ खानै नपकाई सुत्ने गथ्र्यो । कोठामा खाने कुरा हुँदाहुँदै अल्छ्याइँले नखाई सुत्थ्यो । कहिलेकाहीँ चटपटे र चाउचाउले निर्वाह गथ्र्यो । बानीचाहीँ उसको अलिक अल्छी किसिमकै थियो ।
ऊ आफ्नो सानो बेलाको कुरा सम्झिएर बताउँदै थियो – ‘उसको बुवा उसलाई खुब माया गर्नुहुन्थ्यो । मेला जाँदा खाजाका रुपमा दिइएको रोटी जोगाएर ल्याई बेलुका पटुकीबाट निकालेर खान दिनुहुन्थ्यो । जहाँबाट फर्केर आउँदा नि उसलाई केही न केही ल्याइदिनुहुन्थ्यो । आर्थिक रुपमा कमजोर भएपनि मायाँको ठूलो खानी हुनुहुन्थ्यो उसको बुवा । तर पछिपछि उहाँ असाध्यै खोक्न थाल्नुभयो । बुवा बित्दा सम्म त उसमा त्यति हेक्का भएन तर अहिले उसले बुझेको छ –त्यो त उहाँले चौबिसैघन्टा तानिरहने चुरोटको कारण रहेछ । उहाँ मरेर जानुभयो । बुवा बितेर जाने बेलामा उसको उमेर त्यही एघार वर्ष जत्तिको थियो ।
ऊ सुनाउँथ्यो, उसको बुवा बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो –‘यो देशमा हाम्रो लागि पनि समय आउँछ । कमजोरहरूको पनि दिन आउँछ । हामी धनका गरीब भएपनि मनका धनी छौँ । हामीले कसैको केही बिगारिदिएका छैनौँ ।’
उसलाई सम्झना छ जति नै दुखमा पनि उसका बुवा धेरै नै आशावादी हुनुहुन्थ्यो ।
उहाँ भन्नुहुन्थ्यो– ‘हाम्रा लागि पनि घाम उदाउनेछ ।’
यो घामको साङ्केतिक अर्थ उसले बुझेको थिएन ।
तर पछि उहाँलाई रोगले च्याप्यो । उपचारका निम्ति अस्पताल पुर्याइयो ।
डाक्टर भन्दै थिए –‘धेरै पैसा होइन करिब दुई लाखको हाराहारीमा खर्च गर्न सके बुवा बाँच्नुहुन्छ ।’
यो दुई लाख अरूका निम्ति धेरै रकम थिएन तर उनीहरूका निम्ति धेरै थियो । बुवा बितेर गएपछि अब आमा मात्र बाँकी हुनुहुन्छ । आमा उसलाई प्राणले प्यार गर्नुहुन्छ ।
‘यो देशमा विज्ञान पढ्नु मरुभूमिमा खोस्रेर पानी खोज्नुंजस्तै हो’ –आफैँले पढेको विषयमाथि तर्क प्रस्तुत गर्दै थियो ऊ । यो विचारले ममा सघन मुक्का बजा¥यो ।
ऊ तर्क थप्दै थियो –‘पाठ्यक्रम पूरै यूरोपियन र अमेरिकन शैलीको ,तर पढाइ र प्रयोगशाला चाहीँ पूर्ण नेपाली स्टाइल, प्रोफेसर भन्छ –थ्योरी पढ र राम्रो गर अनि प्राक्टिकल नम्बर आफैँ मिल्छ । यो पनि कुनै तरिका हो ? पढेको विषय विज्ञान तर प्रयोगात्मक नम्बर आफै मिल्ने, यो भन्दा असङ्गति के हुन सक्छ ?’
निस्फिक्री चुरोटको धुवाँँ उडाउँदै ऊ बोल्दै थियो – ‘मलाई त केही केही भर छैन यार, ल मानूँ पढाइ सकियो, मलाई जागिर खुवाउँछ कसले ? न मेरो काका बाउको कलेज, न मेरो ससुराको स्कुल । न मेरो कुनै आफन्तको रिसर्च सेन्टर वा प्रयोगशाला ? स्वतन्त्र रुपमा क्षमतालाई कदर गरेर जागिर दिने ठाउँ भेट्न मुस्किल छ । फिजिक्स पढियो ,कामै पाएपनि बढी जसो पढाउने नै हो । कि त अमेरिका छिर्न सक्नुपर्यो । त्यो पनि प्रोपर्टी शो , ब्याङ्क ब्यालेन्स कसले तारतम्य मिलाउने ?’
ऊ थप्दै थियो –‘यो बौद्धिक अभ्यास र वैज्ञानिक क्षेत्र हो, अनि आविष्कारको पनि । यो देशमा आविष्कार कुन चराकोे नाम हो कसैलाई थाहा छैन । आविष्कार केन्द्र खोलेकाहरूको आँसुका कथा पनि हामीले सुनेकै छौँ । पढेकै छौँ ।’
उसका तर्कहरू सुनेर म निराश हुँदै थिएँ । उसले कहिलेदेखि चुरोट खान सिक्यो यो पनि मलाई थाहा भएन ।
ऊ भन्दै थियो –‘सरकारले धूमपानमा कडाइ गरेको दिनदेखि यो सुरु गरेँ ।’
उसले कक्षामा एकदिन प्रश्न गरेको सुन्दै थिएँ –‘हेलो प्रोफेसर, यहाँ शिक्षक र विद्यार्थीको हुल जम्मा पारेर कुन तमासा गर्न खोजिएको हो । यदी देशले निर्माण गर्न खोजेको जनशक्ति केवल शिक्षक मात्र हो भने यति धेरैजनाको सङ्ख्यामा अध्यापन गर्नु आवश्यक छैन ।
अध्ययनले त दक्ष जनशक्ति तयार गर्नुपर्ने होइन र ?, जो देश विकासको विभिन्न क्षेत्रमा काम लागोस् ?’ मैले यो प्रश्न अलिक ध्यान दिएरै सुनेको थिएँ तर मेरो ख्यालमा प्रोफेसरले यो प्रश्न सुनेपनि वास्ता गरेनन् । उसको प्रश्नपछि उनको अनुहारको भावभङ्गिमा अलिक बिग्रिएको जस्तो देखिन्थ्यो । केही समय मौन रहेर फेरी सिद्धान्तकै कुराहरू भट्याउन थाले । उनी विश्वविद्यालयको पाठ्यक्रममै केन्द्रित थिए । घन्टीको अन्तिम समयतिर प्रोफेसर फुसफसे आवाजमा बोल्दैै थिए –‘पढाउन कोर्स अझै धेरै बाँकी छ, विषयान्तर हुनु ठीक छैन । कक्षा कोठामा अन्ट–सन्ट बोलेर समय किन खेर फाल्नु ?’
परीक्षाको केही दिन अघि मात्र थाहा भयो –उसले परीक्षा फर्म भरेको रहेनछ । कारण सोध्न म उसको कोठासम्म गएँ । उसले कारण बतायो –‘म केही दिन निरन्तर बिमारी परेँ । बोर्डिङले यही कारणले मलाई कामबाट हटायो । अब मेरो पैसाको बाटो सबैतिरबाट बन्द भयो । फर्म भर्नू थियो । त्यो भन्दा अघि विश्वविद्यालयमा बुझाउन बाँकी रहेको अध्ययन शुल्क तीस हजार जति तिर्नु थियो । मलाई सबभन्दा सजिलो उपाय फु¥यो –‘ घर फर्किने र यो सबै मानसिक गञ्जागोलबाट मुक्ति लिने । मिले उतै केही काम गर्ने र पारिवारिक गुजारा चलाउने । सन्तोषको सास फेर्ने ।’
मैले सोधेँ –‘तिमीले मलाई एकपटक मात्रै किन नहोस्, किन बताएनौ यार यसबारे ? साथिको रुपमा मैले पनि त केही सहयोग गर्न सक्थेँ वा केही उपाय सुझाउन सक्थेँ ।’
ऊ भन्दै थियो – ‘मैले सम्झेँ, सबैका आआफ्नै बाध्यताहरू हुन्छन् । मेरा समस्याहरू तिमीसँग साझेदारी गर्दा तिमीलाई समस्या पर्न सक्ला भन्ने लाग्यो । मेरै कारणले मैले अरूलाई दुख दिनु ठीक होइन भन्ने सम्झिएँ । धेरै तरिकाले सोचेँ । यो रुढ सैद्धान्तिक कक्षाहरूले दिने उपलब्धी मेरो जीवनमा उदाउने कुनै घाम होइनन् जस्तो लाग्यो । ’
ऊ निस्फिक्री थियो र सामानका केही गुन्टाहरू मिलाउँदै थियो, घर फर्किन ।
म धेरै विचलित थिएँ । र कहीँ भित्र घाउजस्तै केही दुखिरहेको अनुभूति हुँदै थियो । म हेर्दै थिएँ साथिको रुपमा रहेको घाम, जुन अस्ताउँदै थियो मेरो क्षितिजदेखि ।
र सोच्दै थिएँ – ‘उसको जीवनको घाम उदाउँछ कि उदाउँदैन भविष्यको कुनै क्षितिजदेखि ?’
ऊ फर्कियो । ऊ फर्किएको दिनभरी मलाई साह्रै ननिको लागिरह्यो । समय बितेको पत्तै भएन । मेरो जीवनको घुम्ती पनि केही मोडिइसकेको थियो । म पढाउने काम गर्न लागेको थिएँ । मैले आफूले मन पराएकै व्यक्तिलाई जीवनसाथि पाएको थिएँ । विवाह भएर हामीलाई दुई सन्तान लाभ भइसकेकोे थियो । सबै ठीकठाक चलिरहेको थियो । ऊ अर्थात् समीरसँग छुटेको करिब सात वर्ष भइसकेको थियो । ऊबारे पूर्ण त होइन तर केही जानकारी भने अवश्य पाइरहेको थिएँ । ऊ राजनैतिक क्षेत्रमा समाहित भएको छ भन्ने खबर सुनेको थिएँ । देशभरि नै युवाहरू राजनीतिमा समावेश हुनुपर्छ भन्ने किसिमको लहर पनि बनिरहेको थियो । काठमान्डौ रहेर सँगै पढाइ गरेको भए पनि छुटेपछि ऊ आफ्नो जिल्ला फर्किएको थियो । पढाइ सकेर म पनि आफ्नै नगर फर्केको थिएँ ।
देशमा स्थानीय चुनाबको रौनक थियो । मत परिणामहरू सार्वजानिक हुँदै थिए । उसैको जिल्लाको बाँसबारी गाउँपालिकामा ऊ गाउँ प्रमुख पदमा उठेको छ भन्ने थाहा पाएको थिएँ । मत परिणामहरू आउँदै थिए । त्यसै क्रममा रेडियोमा मत परिणामको समाचारमा सुनेँ । समाचारमा भनियो – ‘……जिल्लाको बाँसबारी गाउँपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको छ –समीर गौतम’ । यो उही समीर गौतम थियो जो मलाई दुखी बनाउँदै आफ्नो पढाइ बीचमै छाडेर गाउँ फर्केको थियो ।
समाचार सुनेपछि म खुसीले तीन हात उफ्रिएँ । ऊ स्थानीय निकायको प्रमुखमा विजयी भएको थियो । मलाई निराश बनाउँदै पढाइ छाडेर हिँडेको ऊ विजयी भएकोमा ममा अर्कै खुसी सञ्चार भयो ।
स्थानीय तहको प्रमुखमा त्यति सङ्घर्ष भोगेको मानिस निर्वाचित भएको र त्यस तहका नीति निर्माण तथा कार्यान्वयन गर्ने अवसर उसले प्राप्त गरेकोमा उसलाई मनमनै बधाई दिएँ र खुसीको लामो सास फेरेँ । सम्झेँ –‘अहिले त व्यस्त होला बेलुकी फोन गरेर बधाई भन्ने छु ।’
–छतिवन, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्