-आरसी रिजाल-
एकअर्काको हात समाएर लैनो भैंसीको पाडो हिडेँझैँ हिँड्ने बुढाबुढी देखेको झण्डै एकसाता भयो। दुबै वृद्ध भएकाले कसले कसलाई सहारा दिएर हिँडेका हुन् ठम्याउन सकिदैनथ्यो।
एकदिन खुलदुली मेट्न नगिचै पुगेर सोधेँ। बुढाले — वृद्धभत्ता पाइन्छ रे भनेर नागरिकता बनाउन आएको। प्रशासन र वडा कार्यालय धाँउदाधाँउदा हत्तु भैयो भने।
सहयोग पुर्याउन सकिन्छ कि भनेर वडामा पुगेँ। वडा अध्यक्षले — उहाँहरु ७०/७५ बर्ष अगाडि यहि वडाको लामिडाडा भन्ने ठाउमा जन्मेको भन्नुहुन्छ।त्यहाँको बस्ती उठेको तिसौँ बर्ष भयो होला। मुचुल्का उठाउन चिन्याजान्या कोहि छैन। र अन्य प्रमाणिात कागजात केही छैन। अनाहकमा हामी फस्छौँ।जिल्ला प्रशासनमै जानुस् भने।
जिल्ला प्रशासनमा वडाको सिफारिसबिना नागरिकता उपलब्ध गराउन सम्भव छैन भने। मैले — उहाँलाई लामिडाडाको पानीको मुहान, खोल्साखोल्सी, चौतारो ,गौचरन आदि सबै थाहा छ भन्नुहुन्छ ।अनि उहाँहरुको अनुहार हाम्रो नेपालबासीसंग ठ्याक्कै मिल्छ।उसै त हाम्रो समाजमा जेष्ठ नागरिक अवहेलित छ्न्।उहाँहरूले वृद्धभत्त्ता पाए कल्याणै हुन्थ्यो।अलिकति मानवताको हिसाबले पनि हेर्दिन पर्यो हजुर भने।
अधिकृतले– तपाईंले हामीलाई मानवता र कानुनको पाठ पढाउन पर्दैन भने।मैले — ठिक छ,तपाईंको भनाइलाई माने ।यिनलाई नागरिकता हैन वृद्धभत्ता पाउने व्यवस्थामात्र मिलाइदिनुस् । यस्ता वृद्धबाट नागरिकता दुरुपयोग पक्कै हुँदैन भने ।
अधिकृतले– हेर्नुस् हामी नीति बनाउने ठाउँमा परेनौ। अहिले त नागरिकता मात्र हैन , राष्ट्रिय परिचयपत्र नै चाहिन्छ।असंभव कुरा उठाएर हाम्रो समयको बर्बाद नगर्नुस् भने।
बाहिर निस्केपछि बुढाले — भैगो बाबू अब हाम्रोलागी कस्ट नगर्नुस् ।यहि माटोमा जन्म्यौ,यहीँ पसिना बगायौँ, राज्यको तर्फबाट केहि सहुलियत पाएनौ। अब अनागरिक भएरै मरिने भैयो भन्दै आँसु झारे।
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्