नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारीहरूले आइतबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसॅंग भेट गरेका छन् ।
एनआरएनए अध्यक्ष बद्री केसीको नेतृत्वको टोलीले सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाललाई छुट्टछुट्टै भेटेर एनआरएनभित्र देखिएको समस्याबारे जानकारी गराएको हो ।
उक्त अवसरमा एनआरएनएको आन्तरिक विवाद समाधान, एनआरएन नागरिकता अधिकार कार्यान्वयनमा चुनौती, नेपालमा एनआरएन लगानी प्रक्रियालाई सहज बनाउन आवश्यक लगायत प्रमुख विषयमा छलफल भएको थियो ।
सभामुख घिमिरेले टोलीले व्यक्त गरेको सबै सरोकार सकारात्मक रूपमा ग्रहण गर्नुका साथै यी विषयहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एकीकृत एनआरएनएको महत्वमा जोड दिए र विश्वव्यापी नेपाली समुदायले सामना गरेका चुनौती समाधानमा आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
साथै राष्ट्रिय सभाका अध्यक्ष दाहालले सबै चासोलाई सकारात्मक रूपमा लिए । उनले नेपालले एकताबद्ध एनआरएनएको अपेक्षा गरेकोमा पनि जोड दिए र एनआरएनहरुले भोगेका चुनौती समाधानमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
एनआरएनए एकताका लागि सहजीकरण गर्न आफूहरूले सभामुख र राष्ट्रिय सभा अध्यक्षको ध्यानाकर्षण गराएको एनआरएनए उपमहासचिव सोम सापकोटाले बताए।
एनआरएनएको टोलीले सोमबार राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेट्ने बुझिएको छ । प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भेटेर वार्ताको माध्यमबाट अहिलेको अन्यौलता हटाउन आग्रह गर्ने एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तले बताए ।
प्रतिक्रिया दिनुहोस्