नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक परस्थितिको विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको आगामी कार्यक्रमबारे निर्णय र पछिल्लो राजनीतिक परिघटनाको समीक्षा गरेको हो ।
बैठकमा अध्यक्ष ओलीले वर्तमान समसामयिक राजनीतिक घटनाबारे जानकारी गराउनुभएको थियो । सो विषयमा बैठकमा गम्भीरतापूर्वक छलफल भएको हो ।
बैठकले तीनकुने घटना, समसामयिक राष्ट्रिय राजनीति र आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबारे पनि समीक्षा गरिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सचिवालय बैठकले पूर्वराजाको अभिव्यक्तिबारे आपत्ति जनाएको छ । सचिवालय बैठकले पूर्वराजाले आइतबार जारी गरेको भिडियो सन्देशप्रति समीक्षा गर्दै आपत्ति जनाएको हो ।
पूर्वराजा ज्ञानेन्द्रका पछिल्ला गतिविधिबारे समेत समीक्षा भएको उपमहासचिव ज्ञवालीले उल्लेख गर्नुभयो । उहाँले ज्ञानेन्द्रमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको सचिवालय बैठकले निष्कर्ष निकालेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्