५ बैशाख २०८२, शुक्रबार

नइ प्रकाशनद्वारा देश विदेशका २८ जना सम्मानित

कोलोराडोखबर संवाददाता , April 12th, 2025

नेपाल । नइ प्रकाशनले शुक्रबार राजधानी काठमाडौँमा नेपाल तथा भारतका २८ जना प्रतिभालाई ताम्रपत्र र नगद राशिसहित २०८० सालका नइ पुरस्कार समपर्ण गरेको छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि सात दशकदेखि प्राज्ञिक रूपमा समर्पित प्रा. चेतोनाथ शर्मा आचार्यलाई एक लाख रुपियाँ राशिसहित नइ चन्द्रधन पुरस्कार समर्पण गर्नुभयो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

समारोहमा प्रा।चेतोनाथ शर्मा आचार्यले सिर्जना र ‘बिन्दु’ त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि साढे छ दशकअघिदेखि निरन्तर समर्पित रही नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने भारतका अमर प्राज्ञ केबी नेपालीलाई दुई लाख रुपियाँ राशिसहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्नुभयो ।

प्रा।आचार्यले भारतीय साहित्यकार डा।जीवन नामदुङलाई नइ ईश्वर बराल पुरस्कार, सङ्गीत भूषण भारतका रञ्जित गजमेरलाई कोइलीदेवी पुरस्कार, भारतीय साहित्यकार डा।शान्ति क्षेत्रीलाई नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्नुभयो । यी पुरस्कारका राशि जनही एकएक लाख रूपियाँ रहेका छन् ।

समारोहमा प्रा।चेतोनाथ शर्मा आचार्यले संस्कृति शिरोमणि हरिराम जोशीलाई नइ भूपालदुर्गा पुरस्कार, देशभक्त चिन्तक प्रा।डा।मोहन लोहनीलाई नइ कीर्तिनिधि पुरस्कार, शिक्षाविद् तथा साहित्यकार प्रा।गोपीकृष्ण शर्मालाई नइ देरुनीख सुकीर्ति पुरस्कार, सञ्चारकर्मी कमल प्रधान र ध्रुव थापालाई संयुक्त रुपमा नइ भाजप पुरस्कार, न्युरो सर्जन डा वसन्त पन्तलाई नइ भावी पुरस्कार, सहित्यकार रञ्जुश्री पराजुलीलाई नइ रेखा पुरस्कार, पर्वतका सहित्यकार शान्तिनारायण श्रेष्ठलाई नइ धनरूप पुरस्कार र विराटनगरकी सहित्यकार राधिका गुरागाईँलाई नइ बुलु शर्मा पुरस्कार समर्पण गर्नुभयो । यी पुरस्कारका राशि पनि जनही एकएक लाख रूपियाँ रहेका छन् ।

यसै गरी प्रा. आचार्यले साठी हजार रुपियाँ राशिको नइ देरुनीख प्रदीप्ति पुरस्कार पाल्पाका साहित्यकार कृष्णप्रसाद वस्याललाई समर्पण गर्नुभयो ।

साथै उहाँले जनही पचास, पचास हजार रुपियाँ राशिका नइ कपिल शोध पुरस्कार साहित्यकार ठाकुर शर्मा भण्डारी, नइ देरुनीख गौरव पुरस्कार झापाका साहित्यकार धनकुटे कान्छा, नइ रामलक्ष्मी पुरस्कार तेस्रो लिङ्गी रजनी थकालीलाई र पच्चीस हजार रुपियाँ राशिको नइ देरुनीख पौरख पुरस्कार झापाकी मनीषा राजवङ्शीलाई मिस हेरिटेज पेटाइट युनिभर्स भएवापत प्रदान गरिएको थियो ।

यसका साथै समारोहमा आचार्यले छ जना बाल बालिकालाई दस हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, गायनतर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन र खेलकुदतर्फ सुप्रिया ऐर हुनुहुन्थ्यो ।

यसै गरी सात हजार रुपियाँ राशिको नइ कोपिला गायन पुरस्कार काव्या शिवाकोटी र नइ कोपिला नृत्य पुरस्कार सुधा तामाङलाई तथा नृत्यकलाका लागि पाँच हजार रुपियाँ राशिको ‘नइ चिचिला पुरस्कार’ तीन वर्षीय मानषी भण्डारीलाई प्रदान गरिएको थियो ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतमध्ये के।बी। नेपाली, राधिका गुरागाईँ तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो । समारोहमा पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्