५ बैशाख २०८२, शुक्रबार

कविता: अन्तिम रहर

कोलोराडोखबर संवाददाता , April 12th, 2025

-आर. आर. चौलागाईं-
एउटा जहाज ढलपलढलपल गर्दै
हेलिँदै छ समुद्रमा ।

चढेका छन् असङ्ख्य यात्रीहरू
रूँदै र चिच्याउँदै छन् कोही
कोही अत्तालिएर खसेका छन् पानीमा
कहीँ कतै देखिँदैन टापु
माथिबाट कुनै विमान पनि आउँदैन उद्धार गर्न
झन्झन् गहिरोमा पस्दै छ
सके भुमरीमा पो फँस्दै छ
सुनिन्छ ‘बरमुडा ट्रयाङ्गल’ पनि नजिकै छ ।

पटकपटक फेरिएका छन् चालकहरू
सकेनन् कसैले ढङ्ग देखाउन
छैन कोहीसँग ध्रुव पत्ता लगाउने कम्पास
सुइँको पनि छैन कोहीसँग गन्तव्यको
कहिले एकनास पूर्वतिर हानिन्छन्
र अकस्मात् पश्चिम फर्किन्छन्
कहिले आँखा चिम्लेर उत्तर दौडिन्छन्
र एकाएक दक्षिण मोडिन्छन्
उहिल्यै हो जहाजमा प्वाल परेको
र क्रमशः पानी भरिँदै छ ।

हाम्रो अवसानको प्रतीक्षामा
गोहीहरू निर्लज्ज हाँस्दै छन्
कत्ति कहालीलाग्दा छन्
जिन्दगीका यी घिटिकघिटिक क्षणहरू
कताकति मनका अन्तरकुन्तरहरूमा
जे होस्, बाँच्ने अभिलाषा भने अझै छ ।

मेरो छोराले मलाई सोध्यो−
“बाबा ! यो जहाज र हाम्रो देश
किन उस्तैउस्तै छ ?”

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्