नेपाल । सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्र थापा र कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आइतवार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै यस्तो तथ्यांक बाहिर ल्याउनु भएको हो ।
बोर्डका अनुसार आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको प्रष्ट पारेको छ । बोर्डका कार्यकारी निर्देशक काफ्लेले स्थिति पत्र सार्वजनिक गर्दै कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताउनु भयो ।
महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷८१ को अन्तिम लेखापरीक्षणको अवधिसम्म बोर्डको बेरुजु रु दुई अर्ब ८५ करोड २४ लाख ८९ हजार ४९५ रहेको छ । बोर्डको वार्षिक आन्तरिक आम्दानीको ७५ प्रतिशत बेरुजु देखिनु आफैँमा चुनौतीपूर्ण छ ।
उहाँका अनुसार जसमध्ये सामान्य क्रियाशील बीमित ४३ लाख दुई हजार ७०९ अर्थात् कुल बीमितमध्ये ७५ प्रतिशत र क्रियाशील लक्षित बीमित १४ लाख ५१ हजार १०८ अर्थात् २५ प्रतिशत रहेका छन् । क्रियाशील बीमितको सङ्ख्या विश्लेषण गर्दा अझै पनि बहुसङ्ख्यक अर्थात ८० प्रतिशत नागरिकलाई समेट्न थप मेहनत गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्