नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् ।
नेपाल थारु संघको तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताए ।
महामन्त्री थापाले २०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने बताए । विगतजस्तो कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उनको भनाइ थियो ।
उनले पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए ।
संवैधानिक राजतन्त्र ल्याउन नसकिने उल्लेख गर्दै महामन्त्री थापाले यो कुरा सबैले बुझ्न आवश्यक रहेको बताए। सङ्घीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
अहिलेको निर्वाचन प्रणालीलाई भने संविधान संशोधनमार्फत समाधान गर्नतर्फ पहल लिनुपर्ने महामन्त्री थापाले बताए । सरकारले जनमैत्री काम गरेमा पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्